लामो समययता नेपालमा फेरि देखिएनन् बाटागुर, बाटागुर ढोंगोका र चित्रा इन्डिका प्रजाति
वातावरण विज्ञानकी विद्यार्थी अस्मिता श्रेष्ठले सन् २०२० को मार्चमा सप्तरीमा धर्के भनिने भारतीय धुरी कछुवा फेला पारिन् । ती कछुवा कोसी ब्यारेजभन्दा २ सय मिटर पश्चिम नजिकैको एक पोखरीमा भेटिएको थियो । वातावरण विज्ञानकी शोधार्थी श्रेष्ठले भेट्नुअघि कछुवाको उक्त प्रजाति सप्तरीमा पाइएको स्थानमा रेकर्ड थिएन ।
झापास्थित कछुवा अध्ययन तथा प्रजनन् केन्द्रमा रहेको इलंगेटेट इन्डोस्टुडो टर्टोइस (लाम्चे कछुवा, ठोटरी) कछुवा । तस्बिर सौजन्य : आरको नेपाल ।
प्राध्यापक एवं हर्पिटोलोजिस्ट करन शाहद्वारा लिखित ‘हर्पिटो फाउना अफ नेपाल’ किताबमा यो कछुवा सुनसरी जिल्लामा पाइने उल्लेख भए पनि उक्त ठाउँ विशेषका लागि तस्बिरसहितको प्रमाण भने थिएन ।
आईयूसीएन रेड लिस्टले यो कछुवालाई असुरक्षित प्रजाति (भल्नर्रेबल स्पीसीस) श्रेणीमा राखेको छ । कछुवा भेटिएको बारे यसै महिना जर्नल अफ थ्रिटेन्ड ट्याक्सामा श्रेष्ठको यो अनुसन्धान प्रकाशित भएको छ ।
०००
सन् २०२० मा लुम्बिनीमा पनि इन्डियन आइड टर्टल (मोरेनिया पेटर्सी) प्रजातिको कछुवा भेटियो । त्यहाँ यो लामो समयपछि देखिएको थियो । साउथ एसिएन रेप्टाइल नेटवर्कमा यसबारे मे २१ मा आलेख प्रकाशित छ ।
उक्त कछुवा हरैया खोला नजिकै भेटिएको थियो । यो प्रजातिको अनुसन्धान निकै कम भएको उक्त आलेखमा उल्लेख छ । कछुवामा विद्यावारिधि गरिरहेका झापाका टपिलप्रकाश राईको मुख्य लेखकीय भूमिकामा प्रकाशित उक्त आलेखअनुसार यो कछुवा नदी क्षेत्र छेउछाउ बन्ने पोखरी तथा नदीले बहावको दिशा बदल्दा बनेका तालहरूमा पाइन्छ । यो तराई क्षेत्रको खोला पनि पाइने गरेको पछिल्ला अध्ययनहरूले देखाएका छन् । यसअघि अनुसन्धानकर्ता प्रकाशचन्द्र अर्याल लगायतको टोलीले सन् २००९ मा गरेको अनुसन्धानका क्रममा रूपन्देहीको गैंडाताल (नेपालमा प्रजातिको पहिलो रेकर्ड भएको स्थान) तथा आसपासका क्षेत्रमा यो प्रजातिको कछुवा भेटिएको थिएन ।
आईयूसीएनले कछुवाको यो प्रजातिलाई पनि असुरक्षित अवस्थामा रहेकाको सूचीमा राखेको छ । साइटिस अभिसन्धिअन्तर्गत यो अनुसूची २ मा सूचीकृत छ । पश्चिम नेपालका तराई क्षेत्रहरूमा अझै पनि यो प्रजातिका कछुवाहरू रहेको उक्त आलेखले देखाएको छ ।
०००
नेपालमा पाइने कछुवाहरूमध्ये लाम्चे पनि भनिने ठोटरी (इलंगेटेट इन्डोस्टुडो टर्टोइस) अति संकटापन्नमा सूचीकृत कछुवा हो । यो साइटिस अभिसन्धिको अनुसूची २ मा सूचीकृत छ । यसबारे अनुसन्धान गरिरहेका वातावरण अध्ययन तथा संरक्षण केन्द्र (इन्प्रोक्स) का अनुसन्धानकर्ता परमानन्द राजवंशी तराईदेखि चुरे क्षेत्रसम्म कछुवा पाइए पनि यसको संरक्षण स्थानीयस्तरबाटै गरिनुपर्ने बताउँछन् । सालको जंगलमा पाइने यो कछुवालाई कतिपयले पहेंलो कछुवा भनी भन्छन् ।
यसको संरक्षणमा चुनौती देखिएको उनी बताउँछन् । ‘ठोटरी विरलै भेटिन्छन्, भेटिहाले मानिसहरूले पकाएर खाइदिन्छन्,’ उनले भने, ‘प्राय: आदिवासी रैथाने समुदायहरूले कछुवालाई रोग निको पार्ने, धेरै पोषणयुक्त हुने भन्दै खाने गर्छन् । त्यसैले यो जोगाउन पनि स्थानीयस्तरबाटै थालिनु गर्नुपर्छ ।’ यो प्रजातिको कछुवा लजालु स्वभाव हुने र वन क्षेत्रमा लुकेर बस्ने उनले बताए ।
रूपन्देही र पाल्पा जिल्लामा कछुवा खोजी गर्दा उनले १३ वटा ठोटरी प्राकृतिक वासस्थानमा फेला पारेका थिए । उनले दुई वर्षअघि ती जिल्लामा ३ प्रजातिका १९ वटा कछुवा फेला परेको उनले बताए ।
०००
शोधार्थीहरूका अनुसार नेपालमा १६ प्रजातिका कछुवा पाइएको रेकर्ड छ । तीमध्ये ५ वटा साइटिस अभिसन्धिको अनुसूची १ र बाँकी ११ वटा अनुसूची २ मा सूचीकृत छन् । तीमध्ये ठोटरी र तीन धर्के कछुवा (ट्राइक्यारिनेटा) जमिनमा पाइन्छन् । ‘हामीकहाँ १६ प्रजाति पाइने भनिए पनि बाटागुर, बाटागुर ढोंगोका र चित्रा इन्डिका लामो समयदेखि फेरि कतै पाइएको प्रकाशमा आएको छैन,’ कछुवा अनुसन्धानकर्ता प्रकाशचन्द्र अर्यालले भने, ‘किताब र लेखहरूमा पाइने भने पनि विभिन्न सर्भे तथा अनुसन्धानहरूमा अझै रेकर्ड गर्न सकिएको छैन । यी सबै प्रजातिहरू संकटग्रस्त हुन् । ’
आईयूसीएनको कछुवा विशेषज्ञ समूहका संयोजक प्रा.डा. क्रेक स्टान्डफर्ड भन्छन्, ‘बाटागुर कछुवा धेरै नै जोखिमको सूचीमा छन् । यिनको संख्या पक्कै पनि घटेको छ । नेपालमा पनि यसको बृहत् सर्भे गर्नुपर्ने देखिन्छ ।’
०००
प्राकृतिक वातावरणमा पाइने जीवका सबै प्रजातिको आआफ्नै महत्त्व छ । त्यस्तै कछुवा पनि सिमसारको कुचीकारमध्येमा पर्छ । कछुवाका प्रजातिको अध्ययन, अनुसन्धान नेपाल सरकारको प्राथमिकतामा परेको छैन । ठूला जीवहरूको संरक्षण गर्दा साना जीवहरू आफैं संरक्षण हुने राज्यको मान्यताका कारण नेपालमा साना प्रजातिका जीवबारे संक्षणका योजना नीति निर्माताको चासोमा परेको देखिँदैन । धेरै ठाउँमा कछुवाहरू भेटे मारेर खाइहाल्ने प्रवृत्तिका कारण पनि यसको संरक्षणमा चुनौती थपिएको इन्प्रोक्सका अनुसन्धानकर्तासमेत रहेका पद्मकन्या कलेजका वातावरण उपप्राध्यापक अर्याल बताउँछन् ।
कछुवाको अध्ययन तथा संरक्षणमा नयाँ पुस्तालाई प्रेरित गर्न जेठ ९ गते वातावरण संरक्षण तथा अध्ययन केन्द्रले गोष्ठी गरेको थियो । त्यसमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कछुवाका लागि काम गरिरहेकाहरूले आफ्नो अनुसन्धानको नतिजा प्रस्तुत गरेका थिए । नेपाली अनुसन्धानकर्ताले कछुवाका बारेमा युवा पुस्ताको धारणा, घोडाघोडीको वरपरका कछुवाको अवस्था, मिनी चिडियाखानाका रूपमा स्थापित केन्द्रहरूमा कछुवाको अवस्थिति तथा संरक्षणका लागि कानुनी प्रावधानका विषयमा प्रस्तुतिहरू दिएका थिए ।
वातावरण विज्ञानकी विद्यार्थी अंकिता तिमिल्सेनाले रामसारस्थलको रूपमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा अहिले पनि कछुवाको संकलन गर्ने तथा खानाको रूपमा उपयोग गर्ने प्रवृत्ति भएकाले संरक्षणमा चुनौती रहेको बताइन् ।
गोष्ठीमा नेपालभर रहेका १७ वटा मिनी चिडियाखनामध्ये ११ वटामा कछुवा राखिएको पाइएको नारायण निरौलाले बताए । ‘चिडियाखानाहरूमा १ सय ५३ वटा कछुवाहरू रहेको पाइएको छ,’ उनले भने । चिडियाखनाले कछुवा संकलन कहाँबाट गर्छन्, व्यवस्थापन कसरी भइरहेको छ भन्ने बारेमा अनुसन्धान हुनुपर्ने भनाइ राखे । वन तथा वातावरण मन्त्रालयका उपसचिव हरिप्रसाद पाण्डे कछुवा संरक्षणमा सरकारले नीतिगत कामहरू गरेको भए पनि त्यो प्रयासलाई थप परिस्कृत गर्न पर्ने देखिएको बताउँछन् । हालसम्म २९ प्रजाति पाइएको भारतमा एउटा संस्थाले कछुवाका दुर्लभ प्रजाति पहिचान र संरक्षणका लागि मोबाइल एप नै बनाएको छ । कछुवा देख्नेहरूले फोटो र जानकारी राख्दा त्यसबाट संरक्षणमा मद्दत पुगेको छ ।
Published in Ekantipur on 2nd June of 2021