दुईवटा टाउको भएको सर्प

 

गोविन्द पोखरेल

नवलपुर कावासोती नगरपालिकामा दुईवटा टाउको भएको करेत सर्प भेटिएको विषयलाई सरिसृप र उभयचर क्षेत्रमा कार्यरत अनुसन्धानकर्ता र विद्यार्थीहरुले चासोका साथ लिएका छन् । रुपन्देहीका सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले यस सम्बन्धि थप अध्ययन र विश्लेषण गरेर रेप्टिाइल्स एन्ड एम्बिया जर्नलमा प्रस्तुत गरेको सामग्री यसै साता प्रकाशित भएपछि यो विषय बाहिरिएको हो

कावासाेतीका स्थानीय जुद्धवीर श्रीस मगरको घरमा उक्त सर्प सन् २०१८ को मेमा भेटिएको थियो । घर अगाडि भेटिएको उक्त सर्पलाई कालगण्डकी अस्पताल लगिएको थियो । त्यही सर्पलाई अध्ययन गरेर देवकोटाको टोलीले जर्नलमा प्रकाशित भएको थियो ।

जीव विज्ञानमा यस्ता विभिन्न घटनाहरु हुन्छन् । कतिपय भेटिन्छन् तर रेकर्ड गरिँदैन । नेपालमा दुईवटा टाउको भएको सर्पलाई सर्वप्रथम त्रिभुवन विश्वविद्यालयको प्राणिशास्त्रका प्राध्यापक एवं सर्प विज्ञ करनबहादुर शाहले फेला पारेका थिए। उनले फेला पारेको सर्प सम्बन्धि सन् १९८३ मा प्रकाशित भएको थियो । शाहले फेला पारेको उक्त सर्प जेनोक्रोफिस पिस्केटर (पानी सर्प) थियो । सर्पको नमुना अहिलेपनि स्वयम्भुस्थित प्राकृतिक विज्ञान संग्राहलयमा सुरक्षित छ ।

दुईवटा टाउको भएको करेत सर्प नेपालमा पहिलो पटक भेटिएको देवकोटाको दाबी छ । भारतको उत्तर प्रदेशमा सन् १९५७ मा भीआर झाले पनि दुई वटा टाउको भएको सर्प फेला पारेका थिए । दुईवटा टाउको भएको सर्प सन् १९३७ मा रेकर्ड गरिएको थियो । अहिलेसम्म रेकर्ड गरिएका दुईवटा टाउका भएका सर्पको संख्या १ हजार ९ सय ८७ भन्दा बढी छन् ।

सर्प विज्ञ समेत रहेका शाह भन्छन्, ‘दुईवटा टाउको भएको सर्प भेटाउनु कुनै नौलो कुरा भएन । धेरै वर्षअघि देखि नै भेटिएका छन् । संसारमा धेरै जीव हुर्कन्छन्, बढ्छन् र मर्छन् । कयौंमा एकदुईवटा त्यस्ता हुन्छन् । कतिपय रेकर्ड गरिन्छन् । कतिपय गरिँदैनन् । फरक यति मात्रै हो । मैले भेट्नुअघि ३५० भन्दा बढी दुई टाउके सर्पहरु भेटिएको रेकर्ड थिए ।’

शाहले सर्पको दुईवटा टाउको बन्ने अवस्था भ्रुणको सुरुको अवस्थामा कोष विभाजनको क्रममा हुने एबनर्मालिटीका कारणले भएको बताए । उनका अनुसार सर्पहरुको लिंग निर्धारण पनि तापक्रमले निर्धारण गर्छ । दुईवटा टाउकाे हुनु अब नौलो कुरा नभएको उनले बताए ।

कसरी विकासित हुन्छ दुई टाउको ?

हर्पेटोलोजिस्ट एवं प्राध्यापक कालराम(केआर) खुम्बुका अनुसार सर्पको दुईवटा टाउको जेनेटिक एबेरेशन अर्थात् एबनर्मालिटी हो । जिनहरु मिल्ने क्रममा कुनै एउटा अवस्था नमिल्दा यस्तो देखिने गरेको उनले सुनाए । कतिपयले यसलाई ‘म्युटेसन’ भन्छन् । प्राणीशास्त्रका विज्ञ समेत रहेका खुम्बुका अनुसार कोष बन्ने प्रक्रियामा कुनै एउटा अवस्थामा कोषले असमान्य अवस्था देखाँउदा शरीरका अंगहरु बढ्ने वा नहुने अवस्था हुने गर्छ ।

शुक्रकिट र ओभ्युल फ्यूज भएपछि जाइकोट बनिन्छ । हृयाप्लोइड कोषबाट डिप्लोइड कोष बन्छ । डिप्लोइड कोष विभाजन सुरु हुने क्रममा कोषको आकार भकुन्डो जस्तो गोलो हुँदै जान्छ । सबैभन्दा पहिला एउटा तह बन्छ । त्यसपछि दोस्रो र तेस्रो तहको विकास हुन्छ । कोषको विकास हुने क्रममै जीवका अंगहरु पनि क्रम अनुसार विकासित हुने हुन्छ ।

कोषमा बाहिरी, मध्य र भित्री तह बनिन्छ । यसलाई एक्जोडर्म,मोसोडर्म र इन्डोडर्म पनि भनिन्छ । इन्डोडर्ममा शरीरका भित्री अंगहरु निर्माण हुन्छन् भने मेसोडर्म शरीरका बाहिरी अंगहरुको निर्माण हुन्छ । शरीरको कडा भाग, हड्डि, अगाडिको भाग लगायत टाउको, पुच्छर हुँदै हातखुटा मेसोडर्ममा बनिन्छ । यस्तो खालको विकास सबै प्राणीहरुमा हुने खुम्बुले बताए ।

सर्प मेरुदण्डीय जीवहरुको वर्ग अन्तर्गत सरिसृप वर्गभित्र पर्छ । सरिसृपमा छेपारो वर्ग र सर्प वर्ग पर्छ । सर्पेन्टिजहरुमा सर्पहरु पर्छन् । प्राध्यापक खुम्बुले भने, ‘भ्रुण विकास हुँदा मसोडर्ममा भएको एबनर्मलिटीका कारण अंग थपिएको हुनसक्छ । विभिन्न कारणले एबनर्मलिटी हुनसक्छ ।’

उनले यस किसिमको अवस्था कम जीवहरुमा मात्रै देखा पर्ने बताए । उनले यसलाई कोष विकासका क्रममा हुने परिवर्तनका कारण शरीरको कुनै खण्डमा हुने परिवर्तन भनेर व्याख्या गरे । कहिले काँही अनुहार पर्ने भागको कोष बढ्दा एउटै अनुहार दुई वटा पनि बनिने उनले सुनाए ।

आफूले दुईवटा पुच्छर भएको सर्प देखेको बताउँदै प्राध्यापक खुम्बुले भने, ‘पुच्छर दुईवटा हुन्छ भने टाउको पनि दुईवटा हुन्छ । लाखौंमा एक भेटिने हो ।’ कतिपय दुईवटा टाउको भएको सर्पको घाँटी एउटै हुने गरेकाले कुनैको एउटा टाउकोले काम गर्ने त कुनैले नगर्ने खालको पनि हुने गरेको उनले सुनाए ।

टाउकोमा भएको संयोजन एकै प्रकारले आएको हुँदा भेटिएको उक्त करेत दुईवटै टाउका सक्रिय थिए वा थिएनन् भन्न नसकिने बताए । उनले टाउकोबारे बुझ्‍न विष दन्त र विष थैली हेरेर मात्र थाहा हुने बताए । यो दुई टाउके सर्प व्यस्क नभएर बच्चा हो ।

करेत नेपालमा पाइने ८० प्रजातिका सर्पहरुमध्येको सबैभन्दा विषालु सर्प रहेको प्राध्यापक शाहले बताए । यो भारत, बंगलादेश, श्रींलका लगायतका मुलुकहरुमा पनि पाइन्छ । करेत धेरै नै विषालु रहेको उनले सुनाए । उनले भने, ‘एउटा गोमन सर्पको १२ मिलिग्राम भेनमले मान्छे मर्छ भने करेतको ६ मिलिग्रामले भेनमले मान्छे मर्छ ।’

करेत दिउँसो सुस्ताउने र राति सक्रिय हुने खालको सर्प हो । यसले अधिंकाश मानिसहरुलाई रात वा साँझको समयमा टोक्‍ने गरेको उनले सुनाए । नेपालमा गडाइस(कमन करेत), गनग्वारी(बेन्डेड करेत), कालो करते(लेसर ब्ल्याक करेत), ठूलो कालो करेत(ग्रेटर ब्ल्याक करेत), हिमाली करेत(हिमालयन करेत) र सिन्दकरेत(सिन्द करेत) गरी ६ प्रजातिका करेतहरु पाइन्छन् । नेपालमा सबैभन्दा बढी कमन करेत अर्थात् गडाइस प्रजाति पाइन्छ । यो सर्प विशेष गरेर तराईमा पाइन्छ ।किङ कोब्रा बाहेक अन्य सर्पहरुले गुँड लगाउदैनन् । सर्पले खाल्डो, दुलो लगायतमा अन्डा पार्छ । सुरुमा धेरै नै बच्चा भएपनि बच्चाको मृत्युदर धेरै हुने हुने गरेको उनले सुनाए ।

कमन करेत आयूसीएन रेड लिस्टमा लिस्ट कन्सर्न्ड स्पेसिको रुपमा सूचिकृत छ । यो किङ कोब्रा, पाइथन जस्तो संरक्षित एवं लोपन्मुख प्रजातिको भने हैन ।

माघ १४, २०७६मा इकान्तिपुरमा दुई टाउके सर्पको यथार्थ शीर्षमा प्रकासित ।

About author View all posts Author website

Gobinda Pokharel