प्रकाश प्रदूषण

गोविन्द पोखरेल

हामी सबैको उठ्ने र सुत्ने समय हुन्छ । हामीमा सुत्ने र उठ्नेको रिदम(लय) ‘बायोलोजिकल क्लक’ले मिलाउँछ । यही बायोलोजिकल क्लक प्रकाशको वरीपरी घुमेको हुन्छ । यसको चक्र बिँग्रदा हाम्रो सुत्ने उठ्नेको चक्र प्रभावित हुन्छ । यो चक्रलाई प्रकाशले प्रभाव पार्छ

हामी मानिस दिनमा सक्रिय हुने र रातमा निश्क्रिय हुन्छौं । हाम्रो शरीरमा मेलाटोनिन् भन्ने हर्मोन छ । अध्याँरोमा यसको उत्पादन बढ्दा हामीलाई निद्रा लाग्छ । उज्यालोले यसको उत्पादन घटाउँछ अनि हामी सुत्न सक्दैनौं । धेरै प्रकाश भएको ठाउँमा मेलाटोनिनको उत्पादन कम हुन्छ र निद्रा लाग्दैन ।

सहरीकरण बढेसँगै सडक बत्ती, एलईडी बत्ती लगायत उज्यालो दिने वस्तुको प्रयोग पनि बढेको छ । यसले प्रकाशको उपभोग बढेको छ । प्रकाशको उपभोग बढेसँगै सहरमा राति अबेरसम्म उज्यालो हुन थालेको छ । आकाशमा चम्किलो भएको छ । यसरी राति अकाश चम्किलो हुनु भनेको प्रकाश प्रदूषण देखिनु हो ।

प्रकाश प्रदूषणले मानिसको निद्रालाई खलबलाएको छ । समयमा नसुतेपछि शरीरमा विभिन्न रोगको संक्रमण पनि बढेको छ । न्यूरो फार्माकोलोजी जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखले भन्छ, ‘मेलाटोनिनले कमीले शरीरलाई रोग प्रतिरोधात्मक क्षमता घटाउँछ । साथै शरीरमा क्यान्सर,प्रजन्न क्षमतामा ह्रास, हड्डि मक्किने, कार्डियोभास्कुलर रेगुलसनमा कमी, मानसिक र ग्यास्ट्रो इन्टेस्टाइनमा असर हुन्छ ।’

मानिसलाई मात्रै नभएर अन्य जीवहरुपनि प्रकाश प्रदूषणको मारमा छन् । जूनकिरी अचेल देखिदैनन् । चमेराको संख्या पनि घट्दै गएको छ । लाटकोसेरो कम देखिन्छन् । यसरी रातमा सक्रिय रहने जीवहरुको उपस्थिती कमजोर हुँदै गएको छ । खास गरी सहरी क्षेत्रमा ।

सहरीकरण बढेसँगै उपभोग्य वस्तुको खपत बढी भएको छ । फोहोरसँगै प्रदूषण पनि बढेको छ । जल, जमिन, वायु, ध्वनी प्रदूषण हामीले भोग्दै आएका छौं । तर,पछिल्लो समयमा प्रकाश प्रदूषण पनि थपिएको छ । एउटा बत्ति पुग्ने कोठामा धेरैवटा बत्ति बालेपछि, ज्यादा प्रकाश दिन्छ । चाहिनेभन्दा बढी मात्राको प्रकाश हुँदा यसको असर आँखालाई असर त गर्छ नै सँगै निद्रा पनि खल्बलाउँछ । अहिले चल्तीमा रहको एलईडी बल्बले फाल्न प्रकाशको चम्किला धेरै हुन्छ, नजानिँदो किसिमले हामीले असर गरिहेको छ । तसर्थ एउटा कोठामा कति वाटको बत्तीले धान्छ भन्ने कुरा हामीले ख्याल राख्नुपर्छ ।

कोठामा मात्रै नभएर सडक बत्ती,डिजिटल होडिङ बोर्ड, सांगितिक कार्यक्रममा प्रयोग हुने लाइटले रातको समयमा धेरै नै प्रकाश फाल्छन् । सुरक्षा, व्यापार र मनोरञ्जनको दृष्टिकोण बत्तीको प्रयोग गर्दौ कति उज्याले चाहिन्छ भन्ने कुराको ख्याल हुँदैन । खुल्ला ठाउँमा बत्तीहरुको प्रयोग गर्दा आवश्यकता अनुसार मात्रै प्रयोग गर्नुपर्छ । प्रकाशको प्रतिविम्बिलाई रोक्ने किसिमले बत्ती जडान गर्नुपर्छ । यसमा सम्बन्धित निकायले अध्ययन गरेर जडान गर्दा प्रकाश प्रदूषणले निम्तियाउने समस्या कम गर्न सकिन्छ । जर्नल अफ अर्बन क्लाइमेटमा सन् १९९३ देखि २०१३ सम्मको अध्ययनलाई समावेश गरेर प्रकाशित अनुसन्धानले विश्वमा प्रकाश प्रदूषण तीव्र रुपमा बढेको देखाउँछ ।

अनावश्यक प्रकाश प्रतिविम्बित(रिफ्लेक्ट) हुँदा रातको समयमा आकाश चम्किलो देखिन थालेको छ । जसका कारण प्रकाश प्रदूषण बढेको छ । यसले अध्यारो आकाशलाई उज्यालो पारिदिन्छ । अनि सहरका आकाशका कनिका छरेजस्तो देखिने ताराहरु देखिदैनन् । ताराको आकार, प्रकार,स्थान अवलोकन गरेर खगोल विज्ञानको विकास भएका हो । र यो निरन्तर जारी छ । ब्रहृमाण्डको अध्ययन र आजको आधुनिक विज्ञानको विकास पनि यहीसँग जोडियो । तर, अहिले बढ्दो प्रकाश प्रदूषणले खगोल विज्ञानकाको अध्ययनलाई पनि प्रभावित पारेको छ । इन्टरनेसनल डार्क स्काई एसोसिएसनका अनुसार सांसरका विश्वका अधिकांस मुलुकका राजधानी सहरहरुमा प्रकाश प्रदूषण बढ्दो क्रममा छ । उक्त संस्थाका अनुसार अमेरिकाका दुई तिहाई र युरोपका आधा जसो मानिसहरुले ‘डार्क स्काई’ देख्न छाडेका छन् ।

हामीले प्रयोग गर्ने बत्तीले दिने उज्यालोको ४० प्रतिशत हिस्सा खेर जाने अध्ययनहरुले देखाएका छन् । खेर जाने यस्ता प्रकाश प्रतिविम्बित भएर आकाशतर्फ जान्छन् । यसले आकाशको प्राकृतिक स्वरुप बदलिन्छ । आकाशलाई उज्यालो बनाइदिन्छ । साइन्स एड्भान्स जर्नलमा वर्ल्ड एट्लासको प्रकाशित एक अनुसन्धानले संसारका ८० प्रतिशत मानिसहरु रातको समयमा अध्याँरो आकाश नदेख्ने गरेको निष्कर्श छ ।

रातको समयमा सक्रिय रहने जीवहरुलाई प्रकाशको चम्किलोपनाले असर गर्छ । यसले राति परागसेचनामा सघाउने किराहरुको उपस्थितीलाई ६० प्रतिशतले घटाएको छ । यसको असर सिधै कृषिमा देखिन्छ । चन्द्रमा हेरर बसाईसराई गर्ने चराहरुको यात्रालाई प्रकाश प्रदूषणले चुनौती थपिदिएको छ । नेसनल जिओग्राफीकका अनुसार प्रकाश प्रदूषण कारण अमेरिकामा मात्रै वार्षिक करोडौं चराहरु गगनचुम्बी भवनमा ठोक्किएर मर्छन् । चरा मात्रै हैन, माछालाई पनि यसले असर गरेको छ । सलोमन माछाको बसाइँसराईंलाई प्रकाश प्रदूषणले असर गरेको डार्क स्काई एसोसिएसनले उल्लेख गरेको छ ।

नेपालको सन्दर्भमा राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा राति प्रकाशको मात्रा बढेको छ । यसको सिधा असर निशाचर(रातको समयमा सक्रिय हुने) जीवको प्राकृतिक अवस्थालाई खलबलाएको छ । डब्लूडब्लू एफ नेपालका प्रमुख डा घनश्याम गुरुङले निकुञ्जका बफर क्षेत्रमा हुने बत्तीको अनावश्यक प्रयोगले जैविक चक्रलाई प्रभावित बनाएको छ । उनले भने, ‘प्रकाश प्रदूषण्ले जीवहरुको प्रजननमा समस्या ल्याएको छ । प्रकाश बढी हुदा उनीहरु सक्रिय हुन छाड्छन् जसको असर इकोसिस्टममा देखिन्छ ।’ यसका लागि कम क्षेत्रफल भएका निकुञ्जहरुलाई डार्क स्काई पार्क बनाउनेतिर ध्यान दिन जरुरी रहेको उनले औंल्याए । प्रकाश प्रदूषण, जल, जमिन र वायु, ध्वनी प्रदूषणभन्दा चाँडै र छिटो समाधान गर्न सकिन्छ ।

अमेरिकास्थित एरिजोना स्टेट युनिभर्सिटीका प्राध्यापक डा. ज्ञान न्यौपानेका अनुसार डार्क स्काई नेपाल जस्तो मुलुकका लागि खगोल पर्यटनका लागि महत्वपूर्ण हुने बताए । नेपालमा काठमाडौं,वीरगन्ज र नेपालगन्ज बाहेकका सहरहरुमा प्रकाश प्रदूषण कम भएको र खगोल पर्यटन बढाउन सकिने उनको भनाइ छ ।

आकाशमा प्रतिविम्बित हुने प्रकाशलाई नियन्त्रण गर्न सकियो भने प्रकाश प्रदूषणको नियन्त्रणसँगै ऊर्जा खपत पनि कम हुन्छ । प्रकाश प्रदूषण हुँदा यसले रातको समयमा हामीले हाम्रा सन्ततीहरुलाई ‘मिल्की वे ग्यालेक्सी’,तारा,तारापुञ्ज,उल्का पिण्ड खसेको जस्ता अन्य खगोलीय अवस्थाहरुको बारे कसरी बताउने ? रातको आकाश अध्यारो हुनुपर्छ । यो नै हाम्रो प्रकृति हो । योसँगै हाम्रो स्वास्थ्य जोडिएको छ । पारिस्कितकीय प्रणाली सुन्तुलित भएको छ ।

नेपाल अब लोडसेडिङमुक्त भयो भन्दैमा अनावश्यक बत्तीहरु बालेर कतै हामीले हाम्रो स्वास्थदेखि लिएर प्रकृतिलाई बिगारेका त छैनौ ? प्रकाशको प्रदूषणको सवालहरुलाई कसरी हल गर्ने भन्ने प्रश्न अब हामीसँग आइपुगेको छ ।

माघ १८, २०७६ गते इकान्तिपुरमा बिग्रिएको प्रकृति-चक्रः जिम्मेवार को ? शीर्षकमा प्रकासित ।

 

About author View all posts Author website

Gobinda Pokharel