भक्तपुरको कमलविनायकमा केही युवाहरूले नेपालमै स्याटेलाइट निर्माण गरी अन्तरिक्ष सपनालाई थप सघाउ पुर्याउने अभियानमा छन् ।
बुटवलका सौरभ पौडेल, इटहरीका जितेन थापा र भक्तपुरका राजेश धुसुले नेपालको पहिलो ‘पिको स्याटेलाइट’ निर्माण गरिरहेका छन् ।
स्याटेलाइट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्विट्जरल्यान्डको ज्युरिचमा अन्तरिक्ष र बायो मेडिकलसम्बन्धी काम गरिरहेका बनेपाका राकेशचन्द्र प्रजापतिको प्रत्यक्ष निगरानीमा उनीहरूले स्याटेलाइट बनाइरहेका छन् । प्रजापतिले स्थापना गरेको ओरियन स्पेस कम्पनीमार्फत इलेक्ट्रिकल इन्जिनियरिङ सकेका यी युवाहरू ‘पिको स्याटेलाइट’ निर्माणमा लागेका हुन् । राकेश सन् २००९ मा स्विट्जरल्यान्डले लन्च गरेको पहिलो नानो स्याटेलाइट निर्माणमा संलग्न थिए ।
‘स्याटेलाइट भन्नेबित्तिकै मान्छेले ठूलो सम्झन्छन् । यथार्थमा भने त्यो हैन । हाम्रो जस्तो देशका लागि पिको स्याटेलाइट नौलो लागे पनि विदेशी विश्वविद्यालयहरूमा यो सामान्य हो,’ सौरभ भन्छन्, ‘पिको स्याटेलाइट क्युब स्याटभन्दा सानो हुन्छ । यसको लम्बाइ, चौडाइ र उचाइ ५ सेन्टिमिटरको हुन्छ । कम खर्च र थोरै समयमा बनाउन सकिने भएकाले यसबाट अन्तरिक्षमा कुनै नयाँ प्रयोग गर्न सकिन्छ । अन्तरिक्षको पहिलो खुड्किला यस्तै साना स्याटेलाइटहरूबाट सुरु हुन्छन् । अन्तरिक्षसम्म पिको स्याटेलाइट पुर्याउन करिब ४० लाख रुपैयाँ लाग्ने उनले सुनाए । उनीहरूले ‘क्यान स्याट’ निर्माणसम्बन्धी आफ्नो इन्जिनियरिङको प्रोजेक्ट गरेका थिए । ‘क्यान स्याट एउटा क्यानभित्र अट्न सक्ने स्याटेलाइट हो जो स्पेसमा लन्च गर्न मिल्दैन । स्याटेलाइट निर्माणको पहिलो खुड्किलो यही हो,’ जितेनले भने । राकेशको संकल्प अनि यी युवाहरूको ज्ञानलाई स्याटेलाइट निर्माणमा लगाइयो । कम खर्च, समय लगाएर प्रशंसनीय काम गर्नु उनीहरूको लक्ष्य हो । ‘शैक्षिक हिसाबले काम गरिएको हो,’ प्रजापतिले फोनमार्फत भने, ‘यो नेपालको पहिलो पिको स्याट हुनेछ ।’

यो स्याटेलाइटले स्पेसको रेडिएसनसम्बन्धी जानकारी दिन्छ । स्याटेलाइट बसेको क्षेत्रमा आउने अल्फा, बिटा र गामा रेडिएसन यसले मापन गर्ने सौरभले बताए । स्याटेलाइटको कुन–कुन भाग र कम्पोनेन्टहरूलाई रेडिएसनले खत्तम गर्छ भन्ने जानकारी लिनु यसको उद्देश्य हो । प्राप्त नतिजाले अर्बिटमा रेडिएसनबाट स्याटेलाइटलाई बचाउने विकल्प थाहा हुन्छ । ‘पिको स्याटेलाइट प्रोजेक्ट’ त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीको ‘ड्रिम प्रोजेक्ट’ हो । स्याटेलाइट डिजाइन र कम्पोनेन्ट छनोट, पावर चेन्ज र युटिलाइजेसन, कम्युनिकेसन, थर्मल एनालाइसिस, अर्बिटल पारामिटर, डीके टाइमको कामहरूमा ती विद्यार्थीले सघाएका हुन् । अन्तरिक्षमा पुगेको ५ देखि ७ महिनासम्म मात्र यो स्याटेलाइटले काम गर्ने सौरभले बताए । ‘हामीले दिएको सेन्सरी डाटाले देशलाई धेरै फाइदा पुर्याउँछ,’ राकेशले भने, ‘सन् २०२० भित्र यूकेको एक कम्पनीमार्फत हाम्रो पिको स्याटेलाइट अन्तरिक्षमा पुग्छ ।’
स्याटेलाइटको ‘प्रोटोटाइप’ बनिसकेको छ । ‘फ्रिक्वेन्सी एलोकेसन’ को काम बाँकी छ । फ्रिक्वेन्सीसम्बन्धी काम गर्ने कुनै पनि स्याटेलाइट लन्च गरेर अपरेट गर्नुअघि इन्टरनेसनल टेलिकम्युनिकेसन युनिटबाट अनुमति लिनुपर्छ । जुन धेरै स्याटेलाइटहरूको फ्रिक्वेन्सी एकअर्कासँग नजुधोस् भनेर गरिन्छ । त्यसको समन्वय नेपाल सरकारले गर्छ । स्वीकृति पाउनेबित्तिकै लन्चको तयारी गरिने राजेशले बताए ।
ग्राउन्ड स्टेसन
नेपाली स्याट–१ लन्च भएको १ घण्टामा नेपाली आकाशमा आएको थियो । नेपाली स्याटलाई ‘डिकोड’ गरेर उनीहरूले त्यसको अवस्थाबारे जानकारी दिए । नास्टले हालसम्म नेपाली स्याटबारे आधिकारिक जानकारी दिन सकेको छैन । तर यी युवाहरूले नेपाली स्याट कहाँ कुन अवस्थामा छ, कस्तो छ, नेपालमा कति बजे आउँछ, जान्छ सबै जानकारी दिन्छन् । हुन त कुन स्याटेलाइट कहाँ छ भनेर अनलाइनबाट पनि हेर्न सकिन्छ । तर त्यसको विस्तृत विवरण थाहा पाउन कठिन हुन्छ । उनीहरूको आफ्नै ग्राउन्ड स्टेसन छ । जसबाट उनीहरू ढुक्कसँग काम गरिरहेका छन् । उनीहरूले ‘पिको स्याटेलाइट’ का लागि भनेरै एक वर्षअघि ग्राउन्ड स्टेसनको निर्माण गरेका थिए । यो स्टेसनबाट स्याटेलाइट ट्र्याक गर्न सकिने राजेशले जानकारी दिए । जितेन भन्छन्, ‘नेपालमा केही छैन भनेर नबसौं । सामान किन्नका लागि केही समस्या भए पनि अर्डर गर्दा पाइहालिन्छ । स्टेसनले हाम्रो कन्फिडेन्स लेबल बढाएको छ ।’
तीनै युवाले सन् २०१८ मा इलेक्ट्रोनिक इन्जिनियरिङको पढाइ पूरा गरे । उमेरले २५ वर्ष पनि पुगेका छैनन् । तर काम भने ठूलै गरेका छन् । जितेन ग्राउन्ड स्टेसन बनाउने र डाटा रिसिभ गर्नेसम्बन्धी दक्षता राख्छन् भने सौरभ कम्युनिकेसन हेर्छन् । राकेश शैक्षिक (स्याटेलाइट निर्माण) र व्यावहारिक ज्ञान प्रदान गर्छन् । ग्राउन्ड स्टेसनको डिजाइन जितेनले गरेका हुन् । ‘ग्राउन्ड स्टेसनले ट्र्याक गर्ने र नगर्ने मेकानिजम हुन्छ,’ जितेन भन्छन्, ‘लाइन अफ साइड कम्युनिकेसन हुन्छ स्टेसन र स्याटेलाइटको । हाम्रोमाथि स्याटेलाइट आउँदा हामी ट्र्याक गर्छौं ।’
स्याटेलाइटले पठाउने डाटा रिसिभका लागि स्टेसन चाहिन्छ । उनीहरूले निर्माण गरेको स्टेसनले ‘लो ब्यान्डविथ’ मात्र रिसिभ गर्ने हो । ‘हामीलाई ठूलो स्टेसन चाहिँदैन । हाम्रो स्टेसनको एन्टिनाले जता स्याटेलाइट घुम्छ, त्यतै ट्र्याक गर्छ,’ जितेनले भने, ‘हाम्रो स्टेसनमा एन्टिना, रोट्रेटर र क्लाइन्ट कम्प्युटरको एउटा सिस्टम हो ।’ नेपाल सरकारले स्टेसन निर्माणमा धेरै लगानी गरिरहेको उनीहरूले बताए । नास्टले बनाउन लागेको स्टेसन ठूलो ब्याडविथ रिसिभ गर्ने उच्च किसिमको हो ।
उनीहरू विद्यार्थी र सुरक्षाकर्मीहरूलाई अन्तरिक्ष, प्रविधि, ग्राउन्ड स्टेसनसँगै स्याटेलाइट निर्माणसम्बन्धी जानकारी पनि दिइरहेका छन् । जितेनले स्याटेलाइटको पावर सिस्टममा काम गर्छन् । उनले हालै युवा वैज्ञानिक अवार्ड पनि जिते । खुमलटारमा आयोजित राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनका पिको स्याटेलाइटसम्बन्धीको प्रस्तुतिले उनीलगायत टिमले युवा वैज्ञानिक पुरस्कार पाएका थिए । उनको समूहले विभिन्न देशमा गएर आइडिया र अनुभव बाँडिसकेका छन् ।
युवा लक्षित योजना
नेपाल ‘स्पेस एरा’ मा प्रवेश गरिरहँदा यसका चुनौतीसँगै सम्भावना धेरै नै भएको राजेशले बताए ।मुलुकको आफ्नै बहुउपयोगी स्याटेलाइट भए आफ्नै ब्यान्डविथ प्रयोग गरेर सूचना तथा सञ्चार क्षेत्रमा काम गर्न सकिने र त्यसबाट धेरै रकम बाहिरनबाट जोगिने राजेशले बताए ।
उनीहरूको एउटै स्वर छ, ‘युवाहरूले अवसर आफैं सिर्जना गरौं भन्ने उद्देश्यका साथ स्पेसमा काम गरिएको हो । नेपालमा कसरी स्पेसमा काम गर्ने र अवसर सिर्जना गर्ने भन्नेमा हाम्रो ध्यान केन्द्रित छ ।’ सुपरभाइजर राकेश भन्छन्, ‘स्पेसमा युवाहरूलाई आकर्षित गराउने उद्देश्य हो । अरूले पनि यस्ता साना स्याटेलाइट बनाउन् । बिस्तारै अपग्रेट भएर ठूला स्याटेलाइटहरू नेपालमै बनाउन सकियोस् ।’
पुल्चोक कलेजमा गत वर्षदेखि मात्र स्पेससम्बन्धी अध्यापन सुरु भए पनि सौरभले सन् २०१७ मा ओपन सोर्स क्युब स्याट वर्कसप, सिंगापुरमा भएको पहिलो एसिया पकेट वर्कसपमा पिको स्याटेलाइटसम्बन्धी प्रस्तुति दिइसकेका थिए । सौरभ, जितेन र राजेश यो अवस्थामा आइपुग्नुमा राकेश प्रजापतिको ठूलो हात छ । उनैले स्थापना गरेको ओरियन स्पेसबाट यी युवाहरूले आफ्नो प्रतिभा निखार्ने अवसर पाएका हुन् । उनी उतैबाट यी युवाहरूलाई उत्साह दिन्छन् ।
रोबेटिक्स नेपालद्वारा आयोजित ‘अटोमेटिक अखडा’ प्रतियोगितामा पहिलो भएको यो समूहले पैसा हालेर सेनिटरी प्याड निकाल्ने ‘प्याड भेन्डिङ मेसिन’ पनि बनाए । च्याउ खेतीका लागि चाहिने ओसिलोपनका लागि ‘ह्युमिडी फायर मेसिन’ बनाएर परीक्षण गरिरहेका छन् । ड्रोनबाट प्रदूषण मापनको परीक्षण गरिरहेका छन् ।
Published in kantipur Daily on 3rd shrawan Friday On kantipur Daily,Hello Fridayhttps://www.kantipurdaily.com/hello-sukrabar/2019/07/19/156351661441492533.html?author=1