काठमाडौं उपत्यकाका नागार्जुन, शिवपुरी,ककनी-टोखा, सुन्दरीजल-चिसापानी-साँखु, गोदावरी-फूलचोकी, हात्तीवन-चन्द्रागिरी, साँखु-नगरकोट-नाला, गोकर्ण, सूर्यविनायक, वाग्मती करिडोर क्षेत्रको वनस्पतिको विवरण समेटिएको यो पुस्तक निकै नै उपयोगी छ ।
वनस्पति विज्ञानको अध्ययन र अनुसन्धानमा नेपालको उपस्थिति निकै नै कमजोर छ । सीमित स्रोत साधनका कारण वनस्पति विज्ञान अध्ययन र अनुसन्धान गर्नेहरू घट्दो क्रममा छन् । नेपालका वनस्पतिविद्हरू मातृभूमि छाडेर विभिन्न देशलाई कर्मभूमि बनाउन बाध्य छन् ।
स्वदेश फर्कँदा पनि उनीहरूले आफ्नो धर्म भने छाडेका छैनन् । स्वदेश आएको बेला पनि नेपालको वनस्पति जगतमा योगदान गर्ने हेतुले उनीहरूले अन्वेषण कामलाई भने जारी राखेका छन् ।
तीमध्ये चीनको बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेसको इन्स्टिच्युट अफ तिब्बेतियन प्लेटो रिसर्चमा कार्यरत वनस्पतिविद् डा. शालिकराम सिग्देल र चेक रिपब्लिकको चेक एकेडेमी अफ साइन्सेससको इन्स्टिच्युट अफ बोटनीमा कार्यरत वैज्ञानिक डा. मानबहादुर रोकाया विदेशमा रहेर पनि स्वदेश आएको बेला वनस्पतिको अध्ययन अनुसन्धानमा योगदान दिएका छन् । विदेशमा हुँदा पनि उनीहरूले नेपालका वनस्पतिहरूको अध्ययन अनुसन्धान गरिरहेका छन् । यी दुई वैज्ञानिकसहित सरोजकुमार कसाजु र ला दोर्ची शेर्पाले हालै ‘प्लान्टस अफ काठमाडौं भ्याली: अ पिक्टोरल गाइड’ पुस्तक प्रकाशनमा ल्याएका छन् । कसजु र शेर्पा वनस्पति फोटोग्राफीमा गहिरो चाख राख्ने नागरिक वैज्ञानिक हुन् ।
वनस्पतिको नापपद्धति(नोमनक्लेचर)मा काम गर्ने थोरै नेपाली वनस्पतिविद्हरू छन् । त्यसैले यो क्षेत्रको अनुसन्धान पनि निकै कम छन् । वनस्पतिजगतलाई महत्त्वपूर्ण योगदान हुने गरी प्रकाशित यो पुस्तक काठमाडौं उपत्यकाका वनस्पति बुझ्न निकै नै उपयोगी छ ।
काठमाडौं उपत्यका पहिलादेखि नै वनस्पतिको खोज तथा अनुसन्धानका लागि चर्चित छ । यहाँको जैविक विविधता नै यति धेरै छ कि यहाँ नयाँ नयाँ प्रजातिहरू खोज्नेबित्तिकै भेटिरहेका छन् । यो क्षेत्र जैविक विविधतामा धनी रहेको कुरा यसअघि प्रकाशित वैज्ञानिक खोजहरूमै उल्लेख छन् ।
काठमाडौं भनौँ या नेपालमा, वनस्पति अभिलेखीकरणको कार्य आजभन्दा २ सय २३ वर्षअघि भएको थियो । अर्थात्, सन् १८०२बाट नै यहाँको वनस्पति अभिलेख गर्न थालिएको हो । नेपालका वनस्पतिहरूको वैज्ञानिक रूपमा अध्ययन,अभिलेख र पहिचानको काम पहिलो पटक नै विदेशीले गरिदिएका हुन् । भारत हुँदै नेपाल आएका बेलायती वनस्पतिविद् फ्रान्सिस बुखानन-हेमिल्टनले पहिलो पटक सन् १८०२ बाट काठमाडौंका वनस्पतिको अभिलेख कार्य प्रारम्भ गरेका थिए । उनी नेपाल आएको करिब २० वर्षपछि नथानियल वालिचले नेपालको अध्ययन भ्रमण गरेका थिए । उनको उद्देश्य पनि नेपालका वनस्पतिहरूको जानकारी लिने थियो ।
हेमिल्टनले नेपालको दक्षिणी क्षेत्र हुँदै भिमफेदी, चित्लाङ अनि काठमाडौंका वनस्पतिहरूको अध्ययन/अभिलेख गरेका थिए । हेमिल्टन आएको करिब २० वर्षपछि अर्थात् सन् १८२०/२१ तिर नेपालको वनस्पति अभिलेख गर्न नथानियल आउँदा काठमाडौं उपत्यकाको उत्तरी भाग हुँदै रसुवाको गोसाइकुण्डसम्म पुगेका थिए । त्यसको करिब ९० वर्षपछि अर्थात सन् १९०६मा इजाक हेनरी बुर्किलले वालिचले पछ्याएकै बाटो हुँदै सन् १९०६ तिर नेपालका वनस्पतिको अभिलेख गर्ने काम गरेका थिए ।
२ सय वर्षअघिदेखि नै वनस्पतिको अभिलेख गर्ने कार्य सुरू गरिए पनि आजसम्म नयाँ वनस्पतिहरू नेपालबाट पत्ता लाग्ने क्रम जारी छ । नेपालबाट विज्ञानकै लागि नयाँ प्रजातिका वनस्पति दर्जनभन्दा बढी अभिलेख भइसकेका छन् । सुनाखरीका ज्ञाता वनस्पतिविद् डा. भक्तबहादुर रास्कोटीले पछिल्लो दुई दशकमै नेपालबाट संकलन गरेका एकदर्जनभन्दा बढी वनस्पति विज्ञानकै लागि नयाँ प्रजाति भएको पत्ता लाग्यो । हेमिल्टनले काठमाडौं उपत्यकामा नभेटेको वनस्पतिहरू यसै पुस्तकका सह-लेखकद्वय शेर्पा र कसजुले पत्ता लगाएका छन् । शेर्पाले शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जबाट सन् २०२१मा विश्वकै लागि नयाँ प्रजातिको ऐंसेलु पत्ता लगाए । कसजूले सन् २०१७मा भक्तपुरबाट विज्ञानका लागि नयाँ प्रजातिको वनस्पति सन् २०२०मा पत्ता लाग्यो । थुन्बर्जिया प्रजातिको उक्त वनस्पतिको नाम पनि कसजुको सम्मानमा थुन्बर्जिया कसजुवाना नामकरण गरियो । शेर्पाको सम्मान पनि पनि ऐसुलको उक्त प्रजातिको रुबस दोर्जी राखिएको थियो ।
दुई जना वनस्पतिविद् र दुई जना वनस्पतिको फोटोग्राफीमा रुचि भएका ‘सिटिजन साइन्टिस्ट’को करिब १२ वर्षकी प्रयासबाट तयार भएको यो पुस्तकले काठमाडौं उपत्यकाका वनस्पति बुझ्न खोज्नेलाई निकै नै उपयोगी छ । यसले धेरै जसो वनस्पति समेटेको छ । लेखकहरूले उपत्यकाका नजिकका डाँडाहरूमा पाइने वनस्पतिहरूलाई राम्रो तस्बिरसहित पुस्तकमा उतारेका छन् ।
यो वैज्ञानिक पुस्तक मुख्य गरेर ३ वटा भागमा विभाजित छ । पहिलो पाठमा काठमाडौं उपत्यका बुझ्न सकिन्छ । काठमाडौं उपत्यका नबुझेका जोकोहीले यहाँको भौगोलिक,जैविक,इतिहास, मानिस र संस्कृति बुझ्न सक्छन् । दोस्रो खण्डमा चाहिँ काठमाडौं उपत्यकामा पाइने वनस्पति र यहाँको जैविक विविधताहरूको बारेमा उल्लेख छ ।
तेस्रो च्याप्टरमा यहाँ पाइने वनस्पतिहरूको अभिलेख गरिएको छ । पुस्तकमा अभिलेख गरिएका वनस्पति जगतका १ सय २० परिवारका ८ सय ८५ वटा प्रजातिको अभिलेख गरिएको छ । जहाँ यहाँ सबै ८८५ वटा वनस्पतिको तस्बिरसहित उनीहरूको वैज्ञानिक नाम,प्रयोग,स्थानीय नाम,आवरणको जानकारी,फूल र फल लाग्ने समयको विवरणसहित नेपाल र विश्वमा पाइने स्थानहरूको चर्चा गरिएको छ ।
काठमाडौं उपत्यकाका नागार्जुन, शिवपुरी,ककनी-टोखा, सुन्दरीजल-चिसापानी-साँखु, गोदावरी-फूलचोकी, हात्तीवन-चन्द्रागिरी, साँखु-नगरकोट-नाला, गोकर्ण, सूर्यविनायक, वाग्मती करिडोर क्षेत्रको वनस्पतिको विवरण समेटिएको यो पुस्तक निकै नै उपयोगी छ ।
५०० पृष्ठको यो १ केजी ७ सय ग्राम तौलको पुस्तकले काठमाडौंमा पाइने वनस्पतिहरू कुन भौगोलिक अवस्थितिमा पाइने जानकारी दिनुका साथै वनस्पति क्षेत्रमा रुचि हुने जोकोहीलाई पनि निकै नै उपयोगी छ । दुई जना वनस्पतिविद् र २ जना नागरिक वैज्ञानिकको १२ वर्षको अथक प्रयासमा काठमाडौं उपत्यकाको वनस्पतिहरूको विवरण तयार गर्न सकिन्छ भने नेपालको ‘फ्लोरा अफ् नेपाल’को प्रकाशन गर्न पनि नेपाल सरकारका आधिकारिक निकायहरूले विलम्ब गर्नु हुँदैन । ‘फ्लोरा अफ् नेपाल’ नेपालमा पाइने सबै किसिमका वनस्पतिहरूको अभिलेख हुनेछ । ४ जनाको प्रयासले उपत्यकाका वनस्पतिहरूको अभिलेख तयार हुन्छ भने सिंगो राज्यशक्ति लाग्दा मुलुकको ‘फ्लोरा अफ् नेपाल’ पनि चाँडै नै सम्पन्न गर्न सकिन्छ ।
I wrote this for Kantipur Daily on December 2024.
Here is the link : https://ekantipur.com/literature/2024/12/04/a-book-on-the-flora-of-kathmandu-valley-37-19.html