केही वनस्पतिहरू यस्ता हुन्छन् जो एक ठाउँबाहेक अन्य कहीं पाइँदैन । यी दुर्लभ वनस्पतिको संरक्षण अति आवश्यक हुन्छ । ‘साल्भिया’ प्रजातिको बिरुवा मनाङ–मुस्ताङमा मात्रै पाइन्छ । ‘मालोटस बाइकार्पेलेटस’, ‘हाइपेरिकम कोर्डिफोलियम’ नेपालमा मात्रै पाइन्छन् ।
यी वनस्पति लोप हुनु भनेको संसारबाटै एउटा वनस्पति प्रजाति नासिएर जानु हो । यस्ता ‘इन्डेमिक स्पाइसेस’ को संरक्षण गर्नु आवश्यक र अपरिहार्य हुन्छ ।
ललितपुर, सातदोबाटोबाट ११ किलोमिटर पूर्व लागेपछि पुगिने यो बोटानिकल गार्डेन गोदावरी नगरपालिका–३ मा छ । फूलचोकी डाँडामुनि बसेको यो उद्यान पर्यापर्यटनका लागि चल्तीमा छ । गत वर्ष मात्रै यहाँ मुलुकका विभिन्न ७ सय २८ वटा शैक्षिक संस्थाबाट ५६ हजार ८ सयभन्दा बढी विद्यार्थी अध्ययन–भ्रमणमा आएका थिए । उद्यानमा बीउ बैंकको स्थापना गरिएको छ जहाँ ३ सय प्रजातिका वनस्पति बीउ सुरक्षित छन् ।
उद्यानका प्रमुख दीपक लामिछानेका अनुसार, बैंकमा बीउको वंशाणुलाई समेत सुरक्षित गरेर राखिएको छ । अघिल्लो वर्ष मात्रै यहाँ ९५ प्रकारका ३५ हजारभन्दा बढी बिरुवा उत्पादन भएको छ । विभिन्न जिल्लाबाट २४ प्रकारका नयाँ बिरुवा संकलन गरेर ल्याइएको छ । भमरा र फूल फुल्ने बिरुवाको अन्योयाश्रित सम्बन्ध रहने भएका कारण उद्यानमा यतिबेला भमरा र फूल, चमेरो र वनस्पतिबीचको सम्बन्धबारे पनि अनुसन्धान भइरहेको लामिछानेले बताए । नेपालमा पाइने ६ सय ४० प्रजातिका पुतलीमध्ये ८४ प्रजातिका पुतली यही उद्यानमा यहाँ पाइन्छन् ।
सिप्लिकन, लौठसल्ला, गुन्सी, रुद्राक्ष, सर्पगन्धा आफैंमा उपयोगी तथा संकटापन्न वनस्पति हुन् । यस्ता वनस्पति तथा जडीबुटीका बीउ संकलन र सचेतनाकै लागि शैक्षिक उद्यान स्थापित छ । उष्ण प्रदेशमा पाइने बिरुवा र तिनको जानकारीका लागि यहाँ उष्णप्रदेशीय घर (ट्रोपिकल हाउस) को निर्माण गरिएको छ । राजवृक्ष, पलासा, सर्पगन्धा, साल, आँप, लिचीलगायत ४० भन्दा बढी प्रजातिका बिरुवा यहाँ छन् ।

नेपालमा ४ सय ५१ प्रकारका सुनाखरी पाइन्छन् । सुनाखरीको अध्ययन र संरक्षणका लागि उद्यानमा सुनाखरी घरको निर्माण गरिएको छ जहाँ ६८ प्रकारका सुनाखरी छन् । उन्यू वाटिकामा रूख उन्यूलगायत विभिन्न प्रजातिका उन्यूहरू राखिएको छ । राष्ट्रिय वनस्पति उद्यानबाट विभिन्न जातजाति र वनस्पतिबीचको सम्बन्धबारे पनि थाहा पाइन्छ । जस्तो कि तामाङ समुदायले ८३ प्रकारका वनस्पति विभिन्न कार्यका लागि प्रयोग गर्छन् ।
तामाङ जातिले भिमस्नेपाती, धुसुरे, कयालाङ मेन्दो, पइयुन, कुकुरदाइनोजस्ता बिरुवा आफ्नो धार्मिक कार्यका लागि प्रयोग गर्छन् । उद्यानमा ढुंगा तथा मरुभूमिमा पाइने वनस्पतिबारे जान्न सकिन्छ । वनस्पति परिवार वाटिकामा एकदलीय, दुईदलीय, ब्रायोफाइट्स, टेरिडोफाइट्स, जिम्नोस्पर्म बिरुवा देख्न सकिन्छ । वनस्पतिको टयाक्सोनोमिक वर्गीकरण गरेर राखिएको उद्यान परिसर अपांगमैत्री छ ।
गोदावारी नाम
गोदावरीको राष्ट्रिय वनस्पति उद्यान जानेले गोदावरी फूलबारे जानकारी लिनु जरुरी छ । उद्यानले गोदवारी फूलको खेतीबारे अनुसन्धान गर्दै आएको छ । गोदावरी फूल पन्ध्रौँ शताब्दीतिर चीनमा औषधिको रूपमा प्रयोग गरिन्थ्यो । वैज्ञानिक नाम ‘क्राइसेन्थेमम मोरिफोलियम’ रहेको यो वनस्पति शोभनीय फूलका रूपमा चिनिन्छ । यो फूलको आकार र स्वरूपलाई हेरेर १३ विभिन्न वर्गमा विभाजन गरिएको छ ।
नेपालमा सर्वप्रथम गोदावरी फूल दीपनरसिंह राणाले ल्याएका थिए । करिब सय वर्षअगाडि जापानबाट पढेर फर्कने क्रममा राणाले ‘क्राइसेन्थेमम’ नामको बिरुवा गोदावरीमा रोपेका थिए । गोदावरीमा रोपिएको हुनाले त्यो फूलको नाम गोदावरी रहन गएको जापानी राजदूतावासको स्रोत उल्लेख गर्दै उद्यानले जनाएको छ । वनस्पति विभागले गोदावरी फूलको तन्तु प्रजनन प्रविधिबाट ५ हजार गोदावरी फूलको उत्पादन गरेर गोदावरीमा प्रदर्शन गरिसकेको छ ।
भीआईपी उद्यान
राष्ट्रिय वनस्पति उद्यानले एउटा बेग्लै ‘भीआईपी’ इतिहाससमेत सुरक्षित गरेर राखेको छ । नेपाल भ्रमणमा आउने राष्ट्रप्रमुख र विशिष्ट अतिथिले गोदावरी आएर बोटबिरुवा रोप्ने गरेका छन् । सन् १९८६ मा बेलायती महारानी एलिजाबेथ द्वितिया र प्रिन्स फिलिप्सले रोपेको पुवाँले उद्यानमा हुर्किरहेका छन् ।
सन् १९७८ मा चीनका विशिष्ट नेता तेन हिसाओ पिङले रोपेको मेटासेकुवा, सन् १९८१ मा चिनियाँ स्टेट काउन्सिलका प्रिमियर जोया जियाङले रोपेको गिंको, सन् १९८४ मा चिनियाँ राष्ट्रपति ली जियानियनले रोपेको पहाडे शिरीष पनि उद्यानमा छ । यस्तै, सन् १९८१ मा भारतीय राष्ट्रपति नीलम सञ्जीवा रेड्डीले रोपेको रुद्राक्ष, सन् १९८६ मै भारतका पूर्वराष्ट्रपति ज्ञानी जवेलसिंहले रोपेको लेखपाङ्ग्रा उद्यानमा देखिन्छ ।
जर्मनीका राष्ट्रपति प्रोफेसर रोमन हर्जोकले सन् १९९६ मा ढाले कटुस रोपेका थिए । सन् १९८७ मा रोमानियाका राष्ट्रपति निकोले सिउसेस्कुुले सिरिंगे रोपेका थिए । सन् १९८३ मा पाकिस्तानका राष्ट्रपति जनरल मोहम्मद जिआ अली हकले रोपेको चिनार प्रजातिको बिरुवा यहा देख्न सकिन्छ । सन् १९७८ मा श्रीलंकन राष्ट्रपति जेआर जय वार्दनेले गुन्सी रोपेका थिए । सन् २०११ मा राष्ट्रपति रामवरण यादवले रोपेको पौलेनिया र दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रोपेको लौठसल्ला पनि भीआईपी गार्डेनमा छन् ।
उद्यान बेवास्ता