कर्णालीको क्यानभास : जुम्लाका फाँटमा लहलहाउँदो मार्सी

शरद ऋतुको आगमनसँगै कर्णालीको उच्च हिमाली भूगोल यतिबेला बेग्लै रंगमा सजिएको छ । जुम्ला भएर बग्ने तिला र हिमा नदी किनारका ज्युलो (फाँट) हरूमा पाक्नै लागेको मार्सी धानले सिंगो उपत्यकालाई गाढा सुनौलो र हल्का खैरो आवरणमा ढाकिदिएको छ ।

आँखाले भ्याएसम्म फैलिएका यी फाँटहरू अन्न उत्पादन गर्ने जमिन मात्रै हो कि भन्‍ने देखिन्छ । यो ठाउँ शताब्दीयौँदेखि हिमालसँग पौँठेजोरी खेल्दै बाँचिरहेको मानव सभ्यताको रैथाने ज्ञानका जीवित संग्रहालय भन्दा फरक नपर्ला !

हामी प्रायः हिमाली भूभागलाई उराठ, विकट वा खाद्यान्न अभावको चस्माबाट मात्र हेर्ने गर्छौं । जुम्लाको मार्सी खेतीले त्यसलाई गलत सावित गरिदिन्छ । चिसो हावापानी, भूगोल र सीमित स्रोतसाधनका बीच स्थानीय कृषकहरूले पुस्तौँदेखि जोगाएर यो धान राखेका छन् । जुम्लाको खाद्य सुरक्षा, जीविकोपार्जन र कर्णालीको सांस्कृतिक आत्मसम्मानसँग मार्सी धान गहिरोसँग गाँसिएको छ ।

समुद्री सतहबाट करिब ३,०५० मिटरको उचाइमा रहेको पातारासीको छुमचौर विश्वकै सबैभन्दा उच्च स्थानमा धान खेती हुने क्षेत्रका रूपमा पनि परिचित छ । छुमचौर बाहेक तातोपानीको लाछु ज्युलो, चन्दननाथको शेरा ज्युलो तथा सिञ्जा उपत्यकाका उर्वर फाँटहरू मार्सीका खेती हुन्छ । चन्दननाथ मन्दिर र गुरु चन्दननाथले प्रतिपादन गरेको मानिने यो धानको ऐतिहासिक र पर्यावरणीय सम्बन्ध आफैँमा अध्ययनयोग्य छ ।

 

स्वाद, पोषण र औषधीय गुणका कारण पछिल्लो समय मार्सीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चर्चा निकै चुलिएको छ । यसको चर्चा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी नेता प्रचण्डलाई आफ्नै घरमा बोलाएर मार्सीको भात खुवाएको तस्बिर भाइरल भएको थियो । त्यसपछि मार्सी चामलले नेपाललमा निकै नै स्थान पाउन थालेको छ ।

बजारको माग बढ्दै गर्दा स्थानीय तहमा यसको उत्पादन क्षेत्रको वास्तविक अवस्थालाई पनि उत्तिकै ध्यान दिएर हेर्नुपर्ने देखिन्छ:

  • जुम्लामा कुल २,८८८ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।
  • जसमध्ये करिब ३७ प्रतिशत अर्थात् १,०६८ हेक्टर जमिनमा मात्र रैथाने मार्सी धान लगाइन्छ ।
  • बाँकी १,८२० हेक्टर क्षेत्रफलमा उन्नत तथा हाइब्रिड जातका धानले ठाउँ लिइसकेका छन् ।

रैथाने बीउबिजनको जैविक विविधता जोगाउने हो भने मार्सीलाई ‘व्यापारिक ब्रान्ड’ मात्र बनाएर पुग्दैन । जलवायु परिवर्तनका बढ्दो असर, सिँचाइको अभाव, उन्नत जातको अतिक्रमण र युवा पुस्ताको कृषिप्रतिको घट्दो आकर्षणबीच किसानहरूलाई मार्सी संरक्षणमा प्रत्यक्ष लाभ पुग्ने नीति र स्थानीय सहयोग अपरिहार्य भइसकेको छ ।

(तस्बिरहरू: प्रकाशचन्द्र तिमिल्सेना / नेपाल फोटो लाइब्रेरी)

About author View all posts Author website

Gobinda Pokharel