‘तँलाई कछुवाले कहिल्यै नछाड्ने भयो,’ आज बिहान एउटा पुतली कछुवा (Indian flapshell turtle) लाई बेतिनी सिमसारमा छाडेर फर्किएपछि मेरा गाउँले अनिल राईले भन्नु भएको वाक्य हो ।
मेरो स्थानीय गाउँले भिनाजु प्रभु दिलुङ्गक्षा राईको घरनजिकै भेटिएको कछुवालाई हामीले उसको सुरक्षित बासस्थानमा लगेर छाडेर फर्किने क्रममा अनिल राईले भन्नु भएको यो वाक्य मेरा मनमा बारम्बार गुञ्जिरह्यो । नहोस् पनि किन, म स्नातक तह अध्ययन गर्ने बेलादेखि नै सडक तथा गाउँघरमा भेटिएका कछुवालाई सिमसारमा लगेर छाड्ने गरेको थिएँ । यस अभियानमा मेरा स्थानीय दाजुभाइहरूको ठूलो सहयोग रहँदै आएको छ ।

कछुवालाई प्राकृतिक बासस्थानमा छाड्नु अघि ।
अनिल राईसँग पनि मैले करिब एक दशकअघि यसै गरी कछुवाको उद्धार गरेर छाडेका थियौँ । उहाँको गाउँमा भेटिएको कछुवालाई स्थानीयले मारेर खान लागेको सूचना पाएपछि मैले उहाँलाई फोन गरेर ‘कछुवालाई मार्नु हुँदैन, सुरक्षित बासस्थानमा छाड्नुपर्छ’ भनेको थिएँ । उहाँले मेरो कुरामा सहर्ष सहमति जनाउनुभयो र हामीले मिलेर त्यसलाई सिमसारमा छाड्यौँ ।
त्यसबेला हामी उर्लावारीमा एक किसिमका ‘टोले’ नै थियौँ । नहोस् पनि किन, फुर्सद हुनेबित्तिकै मोटरसाइकलमा हुइँकिएर घुम्ने, साँझ परेपछि स्थानीय रेस्टुरेन्टमा रमाइलो गर्ने, कहिलेकाहीँ राति धरान तथा भेडेटार पुग्ने र मध्यरातमा दर्जनभन्दा बढी मोटरसाइकलको लावालस्करसहित घर फर्कने हाम्रो बानी थियो । त्यसबेला हाम्रो टोलीको नेतृत्व भुवन लिम्बू (फिल्ले) दाइले गर्नुहुन्थ्यो, जो अहिले लन्डनवासी भइसक्नुभएको छ । हाम्रो टोलीका अन्य सदस्यहरू पनि कोही प्रहरी इन्सपेक्टर, कोही जनप्रतिनिधि त कोही वैदेशिक रोजगारीका सिलसिलेमा विभिन्न ठाउँमा छरिएका छन् ।

कछुवालाई सिमसारमा छाडेर आएपछि चोकको क्याफेमा गफिने क्रममा कछुवाको प्रसंग उठाउँदै अनिल राई ।
हाम्रो त्यो युवा टोलीले केवल रमाइलो मात्र गरेन; कहिले कछुवाको उद्धार, कहिले सरसफाइ त कहिले रक्तदान जस्ता सामाजिक काम पनि गर्थ्यो । लागूऔषधविरुद्ध सचेतना जगाउने, ट्राफिक नियमसम्बन्धी सचेतना अभियान चलाउने, युवाहरूलाई खेलकुदमा प्रेरित गर्ने र तिजजस्ता पर्वमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने काममा हामी अग्रसर हुन्थ्यौँ । आज फर्केर हेर्दा लाग्छ, त्यो बेलाको जीवन कुनै सुन्दर सपना जस्तै थियो ।
त्यतिबेला म ‘निगरानी दैनिक’को समाचार प्रमुख, ‘उद्घोष दैनिक’को पूर्वी मोरङ रिपोर्टर र स्थानीय दुर्गा माध्यमिक विद्यालयको मावि विज्ञान शिक्षकको रूपमा सक्रिय थिएँ । सायद त्यही पत्रकारिता र अध्यापनको दोसंधबाट नै मेरो प्रकृति र जीवजन्तुप्रतिको लगाव अझ गहिरिँदै गएको हो ।
हुन त गाउँघरमा वन्यजन्तुको चोरीसिकारी तथा मार्ने प्रवृत्ति पूर्ण रूपमा हटेको छैन । तर, पछिल्लो समय गाउँमा वन्यजन्तुप्रति सद्भाव, माया र अपनत्वको भावना बढ्दै गएको अनुभव हुन्छ । हिजोआज कसैले कछुवा फेला पार्दा आफैँले मारेर खानुको साटो सुरक्षित रूपमा सिमसार वा उपयुक्त बासस्थानमा छाडिदिने गरेका छन्, जुन देख्दा साँच्चै खुसी लाग्छ ।

कछुवा छाडेर फर्कदै गरेको हाम्रो टोली ।
हामीले आज जुन ‘पुतली कछुवा’ (Indian flapshell turtle) को उद्धार गर्यौँ । यो IUCN को रेडलिस्ट (रातो सूची) मा पर्ने संवेदनशील प्रजाति हो । यसको संरक्षण हामी सबैको साझा दायित्व हो ।
हालसम्म मैले दर्जनभन्दा बढी कछुवाहरूको उद्धार गरेर सिमसारमा सुरक्षित रूपमा फर्काउने अवसर पाइसकेको छु । गत वर्ष पनि घरनजिकै भेटिएको पुतली कछुवालाई यसैगरी छाडेको थिएँ भने यस पटक दसैँका लागि गाउँ आउँदा पुनः यस्तै संयोग जुर्यो ।
अनि, छुट्टीमा गाउँ आउँदा जतिबेला पनि कछुवाकै पछि लागेको र तिनलाई उद्धार गरेर छाडेको मात्रै देखेपछि अनिल राईले जिस्कँदै नभनून् पनि किन— ‘तँलाई कछुवाले कहिल्यै नछाड्ने भयो ! ‘