वनस्पतिहरुको ‘संविधान’ मानिने पुस्तक प्रकाशन ढिलाइ हुनुमा सरोकारवाला संस्थाहरुले एकअर्कालाई दोष दिने गरेका छन् ।
उन्युँ र फूल फुल्ने/नफुल्ने वनस्पतिहरूको विवरण ‘फ्लोरा अफ नेपाल’ १० वर्षमा १० वटा प्रकाशन गर्ने समझदारीअनुरूप काम सुरु गरिए पनि २० वर्षमा एक अंक मात्र छापिएको छ । अन्य अंक कहिले प्रकाशन हुने, टुंगो पनि छैन ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), टोकियो विश्वविद्यालय, बेलायतको प्राकृतिक विज्ञान संग्रहालय र रोयल बोटानिकल गार्डेन इडिनवर्गबीच सन् १९९९ मा १० वर्षभित्रमा फ्लोरा अफ नेपाल प्रकाशन गर्ने समझदारी भएको थियो । सन् २०११ मा अंक ३ मात्रै प्रकाशित भएको छ।
बोटबिरुवाहरूको विवरण समावेश गरेर तयार गरिने यस्तो पुस्तकलाई वनस्पतिहरूको ‘इन्साइक्लोपोडिया’ अथवा वनस्पतिहरूको ‘संविधान’ का रूपमा व्याख्या गर्ने गरिन्छ । अन्य देशले पनि आफ्ना वनस्पतिको विवरण संग्रह गरेर किताब निकालेका छन्। नेपालले भने यस्तो किताब प्रकाशन गरेको छैन । फ्लोरा अफ नेपालले जैविक विविधता संरक्षणका लागि महत्त्वपूर्ण भूमिका खेल्नेवनस्पतिविद् प्रमोदकुमार झा बताउँछन्। प्रकाशन ढिलाइका विषयमा संस्थाहरू अर्कोलाई औंल्याउँदै पन्छिने गरेका छन्।
वनस्पति विभागका महानिर्देशक सञ्जीवकुमार राईले समझदारीपत्रमा हस्ताक्षार भएको १० वर्षभित्र फ्लोरा अफ नेपाल तयार हुनुपर्ने भए पनि मुख्य जिम्मेवार नास्टले समन्वय नगर्दा ढिलाइ भएको दाबी गरे। प्रकाशनमा विभागले प्राविधिक सहयोगगरिरहेको उनले जानकारी दिए।
नास्टले वनस्पति विभाग, त्रिवि केन्द्रीय वनस्पति विज्ञान क्याम्पस र गोदावरीस्थित राष्ट्रिय हरबेरियम तथा वनस्पति प्रयोगशालासँग प्रकाशनका लागि सहकार्य गरेको जनाएको छ। वनस्पति विभागले हरबेरियम उपलब्ध गराउने र त्रिवि केन्द्रीय वनस्पति क्याम्पसले दक्ष जनशक्ति उपलब्ध गराउने समझदारी भएको थियो।
फ्लोरा अफ नेपालका लागि भनेर राष्ट्रिय हरबेरियम तथा वनस्पति प्रयोगशलामा एक लाख ६० हजार वटा वनस्पतिको नमुना संकलन गरिसकिएको छ। अंक (भोलुम) ७ को जिम्मेवारी जापान, ४ को बेलायत र ३ र १० को जिम्मा नेपाललाई दिइएको छ। अंक ७ र ४ प्रकाशन गर्ने जिम्मेवारी पाएका जापान र युकेका संस्थाले प्रगति नेपाललाई नबुझाए पनि अनलाइनमा केही जानकारी तथा कामको विवरण राखिएका छन्।
२०११ मा प्रकाशित अंक ३ मा फूल फुल्ने ६ सय प्रजातिका वनस्पतिको विवरण समावेश छ। अंक १० मा मोनोकोट्सलाई राखिएको छ, जसमा दुइटा भाग रहेको लेखन समूहका सम्पादक केशवराज भण्डारीले जानकारी दिए। उनका अनुसार एउटा भागमा मोनोकट र अन्य परिवारका वनस्पतिलाई समावेश गरिएको छ र अर्को भागमा सुनाखरी परिवारका वनस्पतिलाई समावेश गरिएको छ। भोलुम १० को काम चाँडै सुरु हुने उनले जानकारी दिए ।

यसमा ५ सय देखि ६ सय प्रजातिका वनस्पति रहनेछन् । नेपालका वनस्पति प्रकाशनमा भएको ढिलाइबारे आफू गम्भीर रहेको नास्टका उपकुलपति सुनीलबाबु श्रेष्ठले बताए। ‘म नास्ट आएको ६ महिना मात्र भयो । फ्लोरा अफ नेपाल चाँडै प्रकाशन गर्नुपर्छ भनेर नयाँ कार्ययोजना बनाउन लागेका छौँ,’ उनले भने। उनले सन् २०२२ सम्म फ्लोरा अफ नेपालका ४ वटा अंकप्रकाशन गरिसक्ने तयारी भइरहेको जानकारी दिए।
नेपालले भने सन् १९९२ मा भएको अन्तर्राष्ट्रिय जैविक विविधता सन्धिमा सन् २०२० भित्र जैविक विविधताअन्तर्गत वनस्पतिको विवरण तयार गरिसक्ने प्रतिबद्धता जनाएको थियो। सरकारको ‘राष्ट्रिय जैविक विविधता रणनीति एवं कार्ययोजना २०१४–०२०’ मा पनि २०२० सम्म वनस्पतिको विवरण प्रकाशन गर्ने उल्लेख छ।
फ्लोरा अफ नेपालसम्बन्धी कार्यशाला गोष्ठी २००० अक्टोबर २५ मा गरिएको थियो। गोष्ठीले वनस्पति विभागलाई ‘फ्लोरा अफ नेपाल’ तयारी र त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभागलाई मानव संसाधन विकास र तथ्यांकधार व्यवस्थापनको जिम्मेवारी दिएको थियो। नास्टले परियोजना कार्यान्वयनमा समन्वय र सहजकर्ताका साथै अन्तर्राष्ट्रिय सहभागिता तथा प्राविधिक एवं आर्थिक सहयोग जुटाउन र परिचालनगर्न प्रमुख भूमिका निर्वाह गर्ने भनिएको थियो।
सम्पादकहरूको मनोनयन, फ्लोराको तयारी र प्रकाशनसम्बन्धी सम्पूर्ण नीतिगत तथा प्राविधिक विषय परामर्श लिन फ्लोरा अफ नेपाल राष्ट्रिय कार्यालय नास्टमा हुने उल्लेख छ। यसका लागि सबै किसिमका वानस्पतिक सर्वेक्षण, बिरुवा संकलन तथा हर्बेरियम संग्रहको काम भने भइसकेको छ।
प्रकाशित : भाद्र १० 2076