रकेटले ल्याएको परिवर्तन

अमेरिकको स्पेस एक्स नामक संस्थाले केही साताअघि विश्वकै सबैभन्दा शक्तिशाली रकेट ‘फाल्टोन’ मंगल ग्रहका लागि पठायो । हाम्रो जस्तो अविकासित मुलुकहरुका लागि रकेट एउटा सपना हो । समृद्धिको पाइला मुलुक अघि बढेमा नेपालको रकेट सपना पक्कै पुरा होला ।

रकेट भन्ने बित्तिकै सबैलाई चासो हुन्छ। आखिर रकेट के हो र यसको प्रयोग किन गरिन्छ यस्ता प्रश्नले बेलाबेला हाम्रो मनमस्तिष्कले सोचिरहन्छ। सामन्यता रकेट भन्नले हामी अन्तरिक्षमा प्रक्षेपण गरिने यानलाई बुझ्ने गरेका छौँ ।

न्यूटनको चाल सम्बन्धिको तेस्रो नियम हरेक अवस्थामा क्रिया र प्रतिक्रिया बराबर हुन्छ भन्ने सिद्धान्तमा आधरित भएर रकेटको निर्माण गरिएको छ। तीव्र गतिमा रकेटको पछाडि फ्याक्दा अगाडिको दिशाको अनुपातमा बल मिल्छ र गति बढ्छ। विभिन्न क्षेप्यास्त्र, अन्तरिक्ष यान तथा जेट विमान पनि रकेटका उदाहरणहरु हुन्।
सवारी साधनहरुमा डिजेल र पेट्रोल इन्जिन जस्तै रकेटमा रकेट इन्जिनले काम गर्छ। यो अन्य इन्जिनहरुभन्दा फरक हुन्छ। यो प्रतिक्रिया इन्जिन हो। न्यूटनको चाल सम्बन्धिको तेस्रो नियममा आधरित भएर यसको निर्माण गरिएको हुन्छ। यो इन्जिनले एउटा दिशामा भार उत्सर्जन गर्छ भने अर्को दिशामा प्रतिक्रियाबाट लाभ उठाउँछ।

उच्च दबाब परेपछि रकेट इन्जिनले सामान्यतय: उच्च चापमा वायवीय ग्याँस फ्याँक्छ। इन्जिनमा हुने प्रज्जवलनशील इन्धन र अक्सिडाइजरबीच रसायानिक प्रतिक्रिया भएपछि वायवीय ग्यास‘एक्जहस्ट ग्याँस’ निस्कन्छ। ईन्जिनले वायवीय ग्याँस फ्याँकेपछि अर्को दिशामा रकेटले प्रतिक्रिया गति प्राप्त गर्छ।

प्रज्जवलन च्याम्बरले वायवीय ग्यासलाई तीव्र गतिमा रकेटको नोजलबाहिर उत्सर्जन गराइदिन्छ। इन्जिनमा ठोस इन्धन प्रज्जवलन हुँदा इन्धनबाट निस्क्ने वायवीय ग्याँसको मात्रामा कुनै कुनै अन्तर आउँदैन, समान हुन्छ।

रकेट इन्जिनमा एक किलोग्राम इन्धन दोहन हुँदा रकेटको नोजलबाट उच्च तापक्रम र गतिमा एकै किलोग्राम बराबरको ग्यास उत्सर्जन हुन्छ। इन्धनको स्वरुपमा परिवर्तन भएपनि मात्रामा कुनै परिवर्तन आउँदैन। इन्धनको दोहनले वायुवीय ग्याँसलाई गति प्रदान गर्छ। यसरी रकेटले शक्ति प्रदान गर्छ। पृथ्वीको गुरुत्वक्षेत्रबाट बाहिरिन रकेटले ४० हजार कि.मि. प्रतिघण्टाको दरले उड्नुपर्छ। रकेटहरू खण्डखण्डमा निर्माण गरिएको हुन्छ। सामान्यतय रकेटमा ३ खण्डहरू हुन्छन्। प्रत्येक खण्ड काम पूरा भइसकेपछि खस्ने गर्छन्। इन्धन बोक्नका लागि यस्ता खण्डहरुको निर्माण गरिएको हो।

पृथ्वीमा सर्वप्रथम आतिशवाजीको रुपमा चिनियाँहरुले एक हजार बर्षअघि रकेट बनाएको इतिहास छ। गनपाउडरले चल्ने त्यस्ता रकेटहरुलाई टोकरीमा राखेर पड्काइन्थ्यो। २०औँ शताब्दीतिर अमेरिकामा पहिलो पटक इन्धनबाट चल्ने रकेटको निर्माण गरियो। सन् १९२६ मा अमेरिकी नागरिक रोर्बट गोडार्डले ३.५ मिटर लामो रकेट उडाए। यान दुईतले घरको उचाई बराबर मात्र उड्यो। २.५ सेकेन्ड अवधिमा यान ५६ मिटर पर पुगेर झर्यो।

अन्तरिक्षमा आर–७ आइसिबिएम रकेट प्रक्षेपण भएको थियो। स्पुतनिक नाम मानवनिर्मित उपग्रहलाई छाड्नका लागि यो रकेट ४ अक्टोबर सन् १९५७ मा प्रयोग गरिएको थियो। सन् १९६१ मा तत्कालीन सोभियत यूनियनको भोस्तोक–१ नामक रकेटबाट यूरि गाग्रिनले पहिलो पटक पृथ्वीको फन्को मार्दै इतिहास रचे। अमेरिकाले सन् १९६९ मा अमेरिकाको एपोलो–११ रकेट चन्द्रमा अवतरण भयो। निल आर्मस्ट्रङ चन्द्रमामा पाइला टेक्ने पहिलो मानव बने।
रकेट मिसाइलको निर्माण दोस्रो विश्वयुद्धमा जर्मनहरुले बनाए। वेर्नहर भन ब्राउनले पहिलो भिटू नामक रकेट मिसाइलको आविष्कार गरेसँगै आधुनिक रकेट मिसाइलहरुको निर्माण कार्य शुरु भयो।

रकेटहरू अन्तरिक्ष यात्राका लागि नभई नहुने कुरा हो। उपग्रह र अन्तरिक्षयान प्रक्षेपण गर्न रकेटको आवश्यक पर्छ। अन्तरिक्षमा भट्टीहरू निर्माण गर्न आवश्यक पर्ने सामग्रीहरू रकेटकै सहायताले पुर्‍याइन्छ ।

 फाल्गुन २७, २०७४ मा कान्तिपुरमा प्रकाशित 
https://www.kantipurdaily.com/technology/2018/03/11/20180311160659.html?author=1

About author View all posts Author website

Gobinda Pokharel