पूर्व रुसी गुप्तचरलाई ग्यास आक्रमणको विषयलाई लिएर रुस र पश्चिमेली राष्ट्रहरुबीच अहिले दूरी बढ्दो छ । ती देशहरुबाट रसियाली कूटनीतिज्ञहरु निकालिन थालिएका छन् ।

गत मार्च ४ तारिख बेलायतको सालिसबरीमा ६६ वर्षीय पूर्व रुसी गुप्तचर सर्गेई स्क्रिपाल र उनकी छोरीमाथि भएको विषालू ग्यास आक्रमणमा रुसको संलग्नता भएको भन्दै बेलायती कूटनीतिज्ञहरुलाई देश निकाला गर्ने घोषणा गरेको थियो।
यही विषयलाई लिएर अमेरिका, क्यानाडा, बेलायत, अष्ट्रेलिया तथा विभिन्न युरोपेली देशले एक सय ५० भन्दा बढी रुसी कूटनीतिज्ञलाई देश निकाले गरेका छन्। रसियाले भने विश्वकप फुटबलको आफ्नो देशमा हुन नदिनका लागि बेलायत र अमेरिकाले यस्तो आरोप लगाएको बताउँदै आएको छ। साथै रुसले पनि त्यही संख्यामा ति देशहरुका कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेको छ।
मानिसको जन्म र मृत्यु सत्य हो। कहिले सुतेकै बेला मानिस मर्छ भने कहिले खाना खाइसकेपछि मर्छ। हामीले लिएको हावामा कसैले विष छाडिदियो भने के हुन्छ? वैदेशिक रोजगारीका सिलशिलामा जाने थुप्रै नेपालीहरुले सुतेकै बेला मृत्यु भएको खबरहरु सुन्न सकिन्छ। मृतकको फरेन्सिङ टेस्ट नगराई नेपाल फर्काई दिने परिपाटी छ। हरेक मृत्युको पछाडि कारण हुन्छन्। शरीरको कुनै एक महत्वपूर्ण अंगले काम गर्न छाड्यो भने शरिरले काम गर्न छाड्छ। र, यो पनि हुनसक्छ कि शरीरको कुनै अंगलाई कमजोर बनाउन रसायन वा विषक्त हावा सुतेको कोठामा छाडिदिएकाले पनि मृत्यु भएको हो।
एआई (आर्टिफिसियल इन्टिलिजेन्स) को यो जमनामा जैविक आतंक र ‘महामारी’को विषय पश्चिमेली राष्ट्रहरुका लागि नौलो नभएपनि हाम्रो लागि नौलो हो। गुप्तचर संयन्त्रहरु बेला बेला शत्रुको विनाशका लागि देखिने हतियार प्रयोग गर्दैनन्। हानिकारक ग्याँस र रसायनको प्रयोग गरेर आफ्ना शत्रुलाई खतम गर्छन् ताकी प्राकृतिक कारणले गर्दा मरेको देखियोस्। बेलायतमा रसियाले यही विधि अपनाएको पश्चमा मुलुकहरुको आरोप छ। बेलायतको शक्तिशाली सुरक्षा व्यवस्था र भरपर्दो अनुसन्धानले पूर्व कूट्नीतिज्ञलाई रसायनिक हमला गरेको हो भन्नसम्म पुग्यो। बेलायतको यो आरोप रुसले अस्वीकार गर्दै आएको छ।
दुई ठूला ‘जाइअन्ट’राष्ट्रका बीच हाम्रो भौगोलिक अवस्थिती छ। दुवै आणविक शक्तिले सुसज्जित छन्। शक्तिशाली राष्ट्रहरुले शत्रुसँग लड्दा आधुनिक हतियारको विकल्पमा जैविक हतियारमा बढि विश्वास राख्न थालेका छन्। पछिल्लो समयमा आएर यो हतियार एक देशले अर्को देशको खुफिया एजेन्टलाई मार्न प्रयोग गर्ने गरेको बताइन्छ।
जैविक हतियारको प्रयोगले एकै समयमा धेरै क्षति गर्न सकिने विश्वास हो। सिरियाली गृहयुद्धमा सरकारले रसायनिक हमला गरेको यसको एक उदाहरण हो। गृहयुद्धमा रसायनिक हमला भएको पश्चिमेली मुलुकहरुको दाबी छ। हमलामा कयौँ सिरियाली नागरिकको मृत्यु भयो। रसायनिक आक्रमण पनि एक किसिमको जैविक हतियारसँग सम्बन्धित छ।
आतंक सिर्जना गर्नु आफैमा एक अपराध हो। अझ जैविक हतियारको प्रयोग कोहीलाई पनि क्षम्य हुँदैन।
दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको हिरोसिमा र नागसाकीमा खसालेको लिटल ब्वाइ र फ्याट मेन नामक बमको विध्वंशबाट विश्व समुदाय त्यसबेलादेखि नै आणविक हतियारबाट त्रासित बनेको थियो। जैविक हतियार पनि अब मानिसको रोजाइमा पर्न थालेको छ।
ढुंगे युग, विकास युग, अन्तरिक्ष युग हुँदै मार्सको खोजीमा पुगेको मानव जातिलाई बेला बेला ‘जैविक आतंक’ले त्रासित बनाउने गरेको छ।
सभ्यताको शुरुवातसँगै मानिसले आफूलाई जोगाउनका लागि विभिन्न हात हतियारको निर्माण गर्यो। शक्तिको उन्मादले मानिस यतिसम्म मात्यो कि उसले विश्वयुद्ध समेत गर्यो।
पहिलो विश्वयुद्धमा मानिसले आफ्नो ठाउँ र जमिनका लागि आफ्नै प्रजाति (मानिस) सँग लडाईँ गर्यो। दोस्रो विश्वयुद्धमा उसले गोली, बारुद र फाइटरको सहयातामा लडाइँ गर्यो। २१ औँ शताब्दीमा आइपुग्दा लडाइँ गर्न गोली र बारुदको आवश्यकता नभएर जैविक हतियार प्रयोग हुन थालेको छ।
सुरक्षासँग ताजुक राख्ने विभिन्न मुलुकका गोष्ठिहरुमा जैविक आतंकबाट फैलिएको महामारीको विषयहरु उठान हुन थालेका छन्।
जब वातावरणमा कसैले हानिकारक जैविक साधन वा प्रतिनिधि छाडिन्छ, त्यसलाई जैविक आतंकको रुपमा लिने गरिन्छ। जैविक प्रतिनिधिहरुमा बेक्टेरिया, भाइरस र टक्सिनहरु हुन्छन्। यिनीहरुलाई विभिन्न माध्यमबाट मानिसको स्नायू प्रणालीमा पुर्याएर मृत्युवरण गराइन्छ। ताकी कसैलाई लागोस् ऊ बिरामीका कारण मर्यो।
संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण महाशाखाका अनुसार भाइरस, वेक्टिेरिया, टक्सिन (विष) वा अन्य हानिकारक जिवाणुलाई जानीजानी मानिस, जनावर तथा विरुवाहरुमा फ्याँकिनु नै जैविक आतंक हो। यस्ता जीवाणुहरु पृथ्वीमा सजिलैसँग पाउन सकिन्छ। आतंककारीहरुले यी जीवाणुलाई उत्परिवर्तन (म्यूटेसन) गराएर वातवरणमा फ्याँकिदिन्छन्। यस्ता उत्परिवर्तित गराइएका जीवाणुहरुमा रोग फैलाउने कार्यमा सक्रिय हुन्छन्। प्रतिरोधात्मक क्षमता ज्यादा भएकाले औषधीको कुनै असर पर्दैन। यस्ता जीवहरुलाई प्राय: हावा, पानी वा खानाको माध्यमबाट फ्याँकेर माहामारी फैलाउने कार्यहरु हुन्छ।
अमेरिकी गूप्तचर विभागको वेभसाइटमा उल्लेख भएअनुसार आतंककारीहरु यस किसिमको हमलामा बढि नै सक्रिय हुने गरेका छन्। जैविक हमला गर्दा घण्टौँसम्म कसैलाई थाहा नहुने र मानिसहरुमा रोग फैलाई उनीहरुलाई मृत्युको मुखमा पुर्याउने कार्य हुन्छ।
फरेन्सिक जाँच नगराई मानिसको मृत्यु रोगको कारण भएको घोषित गरिन्छ। व्यक्तिको मृत्युको कारण र त्यस क्षेत्रको वातवरणीय अवस्थाको जाँच विरलै हुने गरेकाले आतंककारी हमलामा यस्ता हानिकारक जैविक वस्तुहरुको प्रयोग हुने गरेको छ।
जैविक हतियारको शिकारमा पश्चिमेली राष्ट्रहरु बढी भएका छन्। यो हमलाको शिकार सबैभन्दा पहिला अमेरिका भएको विश्लेषकहरु बताउँछन्। अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसलाई ‘एन्थ्राक्स’आक्रमणको प्रयास भएको इतिहास छ। अमेरिकाको गुप्तचार विभागले विफर रोग, स्मल पक्सलाई जैविक हतियारको रुपमा लिए पनि एन्थ्राक्सलाई हतियारको रुपमा लिएको छैन।
विभिन्न देशका गुप्तचार विभागका तथ्यहरुको आधारलाई मान्ने हो भने जैविक हतियारको प्रयोग सजिलो र कम खर्चिलो हुने र एकैपटक धेरैमा रोग फैलाएर मार्न सकिने भएकाले यसको प्रयोग बढि हुने गरिएको उल्लेख छन्। यस्ता कार्यहरुमा औषधी निर्माण कम्पनीदेखि विकासित मुलुकहरु अघि रहेको बताइन्छ। ‘मास मसाकर’का लागि यसको प्रयोग हुने गरेको छ।
२०औँ शताब्दीतिर जैविक हतियारको पहिले पटक प्रयोग भएको इतिहास छ। पहिलो विश्वमा युद्धमा जनवारहरुमा एन्थ्राक्सको प्रयोग गरिएको थियो। जुन हमला विफल भयो। पहिलो विश्व युद्धको शुरुवातीमा जर्मनीले अमेरिका, तत्कालीन सोभित यूनियन (रुस), फ्रान्स र रोमानियाका विभिन्न जैविक प्रयोगशालाहरु ध्वस्त पार्नका लागि आफ्नो खुफिया एजेन्ट पठाएको थियो। जर्मनीले घोडा र खच्चडमा लाग्ने ग्लान्ड्रस नामक बेक्टेरिया रोग उसको एजेन्टलाई पठाएको थियो। अमेरिकामा रहेका उसको एजेन्टले अमेरिकाबाट जलमार्ग हुँदै पठाइने ती घोडाहरुमा ग्लान्ड्रस रोग लगाइदिने काम गर्दथे। फ्रान्स र रसियामा पठाइएका ती रोगी घोडाहरुको कारण ती देशमा जर्मनीले दबाब गर्दथ्यो। रोग फैलाउने कार्यका लागि जर्मनीले पठाएको एजेन्ट पक्राउ परेपछि पहिलो विश्वयुद्धमा उसले ठूलो क्षति व्यहोर्नुपरेको थियो।
टाइफाइड रोग फैलाउने कार्यमा संलग्न भएको आरोपमा अमेरिकाले सन् १९७२ मा दुई जना स्कूले विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको घटना छ। अमेरिकाकै ओरेगन सहरमा सन् १९८४ मा हुन लागेको स्थानीय चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्नका लागि त्यहाँको एक क्षेत्रीय दलले सलाद मार्फत ‘फुड पोइजनिङ’ गराएको थियो। उक्त घटनामा ७ सय ५० जना प्रभावित भएका थिए। यो घटनालाई अमेरिकी इतिहासकै पहिलो आंतककारी जैविक हमलाको रुपमा लिइने गरिन्छ।
सन् २००१ मा अमेरिका र चिलीमा आउने विभिन्न चिट्ठी पत्रमा एन्थ्राक्स पठाइ मानिसहरुलाई मार्ने कार्य भएको थियो। एन्थ्राक्स आक्रमण अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लू बुसमाथि समेत हुन खोजेको थियो। अमेरिकी गुप्तचार विभागले सो घटनामा अलकायदाको हात रहेको बताएको थियो। त्यसैसमय अलकायदाले खानेपानीमा जीवाणू फैलाउन खोजेको थाहा पाएपछि अमेरिकाले देशभरका खानोपानी आयोजना तथा पानीका स्रोतहरुलाई कडा निगरानीमा राख्न थालेको हो।
जैविक आतंक मच्चाउनेहरुलाई एन्थ्राक्सको प्रयोग सजिलो माध्यम बनेको छ। एन्थ्राक्समा पाइने ब्यासिलस एन्थ्रासिस नामक जीवाणु सरुवा नभएका कारण कुनै एक व्यक्तिमात्र यसको शिकार हुने गरेकाले चिठ्ठी पत्रमा एन्थ्राक्सको पाउडर बनाएर पठाइने गरेको इतिहास छ। एन्थ्राक्सबाट अमेरिका यतिसम्म डरायो कि ऊ बाध्य भएर आफ्ना नागरिकलाई एन्थ्राक्स विरुद्धको खोप लगाउने अभियान शुरु गर्यो। पहिले उच्च पदस्थ कर्मचारीहरुलाई एन्थ्राक्स विरुद्धको खोप लगाएपछि पनि अमेरिकाले आफ्ना नागरिकहरुमा पनि यसको जोखिम हुनसक्ने भन्दै खोप अभियान नै चलाएको थियो। हाल एन्थ्राक्स आक्रमणका घटनाहरु बाहिर आएका छैनन्।
सन् २०११ सिएनएनका चिफ मेडिकल करेस्पोन्डेन्ट डाक्टर सञ्जय गुप्ताले तयार पारेको एक रिर्पोटलाई आधार मान्ने हो भने अमेरिका जैविक आक्रमण विरुद्ध लड्न सक्षम भइसकेको र आक्रमण विरुद्ध उसले चलाउदै आएको कदम प्रभावकारी बन्दै गइरएको छ। प्लेग, इबोला, स्वाइन फ्लू, बर्ड फ्लू, मर्सलगायतका रोगहरु यतिबेला जैविक हमालाका लागि विश्वमा चर्चित छन्।
केही वर्षअघि अफ्रिकी मुलुकहरुमा इबोला नामक रोगको महामारी चल्यो। इबोला भाइरसमा आतंककारीहरुको हमला थियो या कसैले परीक्षण गरेको हो भन्ने विषयमा आज बहसको विषय बनेको छ। कोरियामा देखिएको ‘मर्स’रोग पनि बहसको विषय बनेको छ। यो रोग महामारीका रुपमा फैलनु पनि जैविक आतंक हुन सक्ने तर्कहरु आउन थालेका छन्।
जैविक आक्रमण र नेपाल
नेपालमा हालसम्म सुरक्षा संयन्त्रले जैविक आतंक सम्बन्धि कुनै खोज तथा अनुसन्धान नगरेको प्रहरीका उच्च अधिकारीहरु बताउँछन्। केन्द्रिय अनुसन्धानका वन्यजन्तु क्राइम विभागका डिएसपी अनुपम शमशेर जबराको भनाइलाई आधार मान्ने हो भने नेपालमा यो विषयले प्रवेश नै नपाएको बताए। उनका अनुसार नेपालमा वातावरणीय अपराध हेर्ने कुनै इकाइ नै खडा भएको छैन।
सुरक्षासँग ताजुक राख्ने अन्य निकायहरुमा जैविकक आंतकको बारेमा कमै मात्रा थाहा हुने गरेको त्यहाँका अधिकृत स्तरका कर्मचारीहरु बताउँछन्। सरकारले यस विषयमा न त कुनै चासो दिएको छ न त कुनै निकाय नै गठन गर्न सकेको छ।
जाजरकोटमा वर्षेनी फैलने महामारीको विषयमा सरकारले सुक्ष्म अनुसन्धान गरेको पाइदैन। महामारीका कारण धेरैले ज्यान गुमइरहदा त्यहाँको पर्यावरण,हावापानीको नमुना संकलन गर्न राज्यले आवश्यक ठानेन। महामारी फैलनुको कारण के थियो? अज्ञात रोगको कारण मानिसको मृत्यु भनिन्छ। देशमा यस्ता किसिमका विभिन्न रोगहरुको बारेमा सामान्य उपचार गरेर त्यसै छाडिन्छ। बर्ड फ्लू संक्रमण बेलाबेला एक्कासी देखिन्छन्। यसमा राज्यले शंकाले गर्न जरुरी छ।
विदेशीहरुको लागि नेपाल स्याण्डविचको बीच भागका रुपमा लिइन्छ। उत्तरमा चीन र दक्षिणमा भारतको बीचमा अवस्थित भूपरिवेष्ठित राष्ट्र नेपाल प्राकृतिक विविधतामा भरिपुर्ण मुलुक हो। विश्वको सबै उचाईमा पाइने हावापानी हाम्रो मुलुकमा पाइन्छ। प्राकृतिक स्रोतको धनी राष्ट्र नेपाललाई कुदृष्टि लगाउनेहरु धेरै नै छन्। हाम्रो देशले जैविक हमलाको बारेमा सचेत हुनु जरुरी छ। हिमाश्रंखलाहरुबाट निस्कने खोला तराईसम्म आइपुग्न घण्टौँ लाग्छ। हाम्रो देशका खोलाहरुमा विष हालेर माछा मार्ने परिपाटी छ। यस्ता गतिविधिहरु रोक्नका लागि सरकार निरीह देखिन्छ।
हावाको माध्यमबाट कसैले जीवाणु फ्याँक्यो भने यसको प्रभाव कहाँसम्म पुग्छ? सोचनीय विषय बनेको छ। हाम्रो ध्यान वातवरण संरक्षणमा गइरहदा वातवरणीय क्राइमको बारेमा पनि जान जरुरी छ। यस्ता विषयहरु राज्यले सोच्नुपर्ने हो।
नेपालले जस्तो विकासोन्मुख मुलुकहरले यस्ता ‘माइक्रो’कुराहरुलाई सचेत हुन जरुरी छ। दुई जनालाई मार्नका लागि बेलायतमा भएको एउटा ‘रासायनिक ग्याँस’हमलाले विश्वमा कत्रो तरंग ल्याइदियो। यो हमला पनि एक किसिमको जैविक आक्रमण जस्तै हो। के हाम्रो जस्तो मुलुकका लागि जैविक हमला र वातवरणीय अपराध हेर्ने छुट्टै संयन्त्रको आवश्यता परेको छैन?
प्रकाशित : चैत्र २१, २०७४ १६:३१