नेपालमा ३० वर्षको अवधिमा ५ सय ११ वटा हिमताल थपिएका छन् । जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका हिमनदी पग्लन थालेपछि हिमतालको संख्या बढेको हो ।
थपिएका सबै हिमताल कोसी नदी बेसिनमा छन् । ४ हजार ४३ मिटरदेखि ५ हजार ६ सय मिटरको उचाइमा रहेका १ सय २ वटा हिमताल भने हराएका छन् । अनुसन्धानमा खटिएका त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. सुदीप ठकुरीका अनुसार २० वर्षको अवधिमा तालको औसत क्षेत्रफल २५ प्रतिशतले बढेको छ । नेपालमा सन् १९८७ मा १ हजार १ सय ३७ वटा हिमताल थिए । सन् २०१७ मा आएर १ हजार ५ सय ४१ वटा पुगेको छ । यसले जलवायु परिवर्तन र तापक्रम वृद्धिको असर देखाउने ठकुरीले बताए ।
हिमतालहरुलाई तीन प्रकारमा वर्गीकरण गरेर अनुसन्धान गरिएको थियो। जसमा ‘सुप्रा ग्लेसियल,प्रो ग्लेसियल र अनकनेक्टेड’तालहरु छन्। हिमनदीको छेउछाउमा बनिने ‘प्रो ग्लेसियल’ ताल यो अवधिमा एक सय ८१ प्रतिशतको दरले बढेको पाइएको छ। यी तालहरुको क्षेत्रफल ८१ प्रतिशतको दरले बढेको अनुसन्धानले देखाएको छ।

सगरमाथा नजिकै बनेको ईम्जा ताल । तस्बिर सौजन्यः सुदीप ठकुरी
हिमनदीका बरफ पग्लिएपछि पानी बनिने र त्यही पानी हिमनदीको हिउँलाई झन् पगाल्न मद्दत गर्छ। जसका कारण ‘प्रो ग्लासियल ताल’को संख्या बढेको ठकूरीले बताए। ‘प्रो ग्लेसियल’ तालले तापक्रम वृद्धिको अवस्था जनाउँछ। ठकुरीका अनुसार हालै गरिएको एक अनुसन्धानमा सन् १९७६ देखि २०१५ मा वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य चार प्रतिशतको दरले बढेको पाइएको छ।
२०१५ मा भएको एक अध्ययनबाट वर्षाको परिणाम ९ मिलिमिटर प्रति वर्षको दरले घटेको देखिन्छ। ‘अनकनेक्टेड ताल’हरुले वर्षाको अवस्थाबारे जानकारी दिन्छन्। यी तालहरु २० वर्षको अवधिमा घट्दो रहेको अनुसन्धानकर्ता ठकूरीले बताए। उच्च हिमाली क्षेत्रमा रहेका तालहरुलाई वर्षा परिवर्तनको सूचको रपमा समेत चिनिन्छ।

हिमाली क्षेत्रमा हिमतालहरुको संख्या बढेपछि यसले तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरु हिमताल विष्फोटनको उच्च जोखिममा परेको ठकूरीले बताए। उनका अनुसार हिमताल विष्फोटनको खतरा बढेर गएको छ।
उक्त अनुसन्धानले नेपाललाई हिमताल विष्फोटनको सम्भावित खतराहरुबाट जोगिन तत्काल उपायहरु खोज्न समेत सुझाएको छ। कर्णाली र गण्डकी खोलाको तुलानामा कोसी नदीको उपल्लो क्षेत्रहरुमा हिमतालहरुको क्षेत्रफल बढ्दो अवस्थाममा रहेकाले त्यसतर्फ पनि ध्यान दिन आग्रह गरिएको छ।