यी जीव कसले बेच्ने र कसले किन्ने ? यी जीव किन्नुको औचित्य के ? सर्वसाधारणलाई यो विषयबारे थोरै जानकारी होला तर यसभित्रको पाटो भने बेग्लै छ ।
जीव किन्ने–बेच्नेहरू
राजधानीको थापाथली र त्रिपुरेश्वरमा यस्ता जीवहरू गोटागन्ती हिसाबमा किन्न पाइन्छ । यी जीवहरू ‘साइन्स हाउस’ ले बेच्छन् । त्रिपुरेश्वर, थापाथली, पाटनलगायत उपत्यकाका अन्य ठाउँमा साइन्स हाउस छन् । यी हाउसले विद्यालय तथा कलेजमा विज्ञानका सामग्रीहरू बेच्छन् ।
मुलुकका विभिन्न माध्यमिक विद्यालयले साङ्लो, जुका, माछा, सि–हर्स (समुद्री–घोडा), स्टार फिसलगायत प्रजातिका जीवहरू गोटागन्ती हिसाबमा खरिद गर्छन् । विद्यालयमा रहेको साइन्स ल्याबमा विद्यार्थीलाई ‘डेमेन्सट्रेसन’ का लागि यस्ता जीव आवश्यक हुन्छ ।

कक्षा ९ का विद्यार्थीलाई ढाड भएका र नभएका जीवहरू बारेमा पढाइन्छ । कक्षा १० मा जीवहरूको वर्गीकरण सिकाइन्छ । यस्ता जीवहरू माध्यमिक विद्यालयहरूका जीव विज्ञानको ल्याबमा ‘म्युजियम स्पेसिमेन’ को रूपमा राखिन्छ ।
भ्यागुता बजार
साइन्स हाउसहरूमा सबैभन्दा धेरै भ्यागुता र गँड्यौला बिक्री हुन्छ । त्रिपुरेश्वरमा रहेको द साइन्स हाउसले वार्षिक बढीमा १ हजारवटा भ्यागुता बेच्छ । सञ्चालक आकाशमान बज्राचार्यले एउटा भ्यागुता ३० रुपैयाँभन्दा बढीमा बेच्ने गरेको सुनाए ।
थापाथलीको द साइन्स हाउसले बर्सेनि ३ हजारभन्दा बढी भ्यागुता बेच्छ । गँड्यौला पनि त्यही हाराहारीमा बिक्री हुन्छ । त्रिमूर्ति साइन्टिफिकका टीकाराम घिमिरेका अनुसार राजधानीमा मात्रै वार्षिक रूपमा ३० देखि ४० हजार भ्यागुता बिक्री हुन्छ ।
विज्ञान विषय लिएर कक्षा ११ मा जीव विज्ञान पढ्ने विद्यार्थीले भ्यागुता र गँड्यौलाको चिरफार (डाइसेक्ट) अनिवार्य गर्नुपर्ने हुन्छ । उनीहरूलाई यी जीवको जनरल एनाटोमी, पाचन प्रणाली, आर्टियल र भेनस प्रणाली चिरफार गरेर देखाउनुपर्ने हुन्छ । चिरफार क्रममा विद्यार्थीलाई यी जीवको लिंग पहिचान गर्नसमेत सिकाइन्छ । कक्षा १२ मा एउटा स्तनधारी जीवको पनि चिरफार गर्नुपर्ने हुन्छ । कसैले मुसा त कसैले लोखर्केको चिरफार गर्छन् ।

बत्तीसपुतलीको गोल्डेनगेट इन्टरनेसनल कलेजमा मात्रै वार्षिक ५ सयवटा भ्यागुता चिरफार हुन्छ । उक्त कलेजका ल्याब एसिस्टेन्ट नवराज पण्डितका अनुसार बायोलोजी विषय पढाइ हुने सबै सेक्सनबाट भ्यागुता चिरफारको प्रयोगात्मक अभ्यास गराइन्छ ।
ललितपुरको प्रसादी एकेडेमीले वार्षिक बढीमा २ हजार भ्यागुता खरिद गर्छ । द साइन्स हाउस थापाथलीका अनुसार प्रसादी एकेडेमीले आफ्नो पसलबाट वार्षिक रूपमा बढीमा २ हजार भ्यागुता गर्दै आएको छ ।
संकटमा भ्यागुता
सर्प र भ्यागुताका साथी (क्यारोन) नेपाल नामक एक गैरसरकारी संस्थाले उपत्यकामा भ्यागुताको चिरफारसम्बन्धी एउटा अनुसन्धान गरेको थियो । ८ वर्षअघि गरिएको अनुसन्धानमा उपत्यकाका २७ हजार २ सय ५५ विद्यार्थीले एक वर्षमा ५२ हजार एक सय ५१ वटा भ्यागुता चिरफार गरेको अध्ययनमा देखिएको थियो ।
क्यारोनका सहसचिव प्रकाश अर्यालका अनुसार नेपालमा वार्षिक १ लाखभन्दा बढी भ्यागुताको चिरफार हुने गरेको बताए । विद्यार्थीलाई प्रयोगात्मक अभ्यास फरक ढंगले गराउनुपर्ने सुझाव आउन थालेको छ । यसका लागि ‘डमी’ प्रयोग गर्न सकिने तर्क आउन थालेको छ ।

एउटा वयस्क भ्यागुताले झिँगा तथा लामखुट्टे नियन्त्रण गर्न मद्दत पुर्याउँछ । भ्यागुतालाई कृषकको साथीको रूपमा पनि लिने गरिन्छ । श्रेष्ठका अनुसार बासस्थानको विनाश, प्रदूषण, रासायनिक, जलवायु परिवर्तन, खानाका लागि प्रयोग तथा चिरफारको रूपमा संकलन, पानीको मुहान् सुक्न थालेपछि भ्यागुता अस्तित्व संकटमा पर्दै गएको छ ।