भ्यालेन्टाइन्स डे अर्थात प्रणय दिवस । प्रेमको बढि चर्चा हुने दिन । प्रेमिल जोडीहरुको खास दिन । प्रेममा विश्वास गर्नेहरुको दिन । हरेक टोलहरुमा प्रेमलाई व्याख्या गर्ने धेरै ‘पण्डित’हरु भेटाइन्छन् । प्रेममा यस्तो नशा छ,जो शब्दमा भनेर साध्यै छैन । यो त प्रेमको सागरमा डुबेकाहरुलाई मात्र थाहा छ । एउटा भनाइ छ,प्रेम अन्धो हुन्छ,सच्चा प्रेम कहिल्यै मर्दैन ।
प्रेम प्रतिको सम्मान र प्रतिक देखाइनु नै प्रणय दिवस मनाउनुको सार्थकता हो । आम मानिसहरुको तुलनामा यस पर्वले खासै महत्व नराखेपनि प्रेमको टुसा अंकुरण गराउन तयार प्रेममात्माहरुका लागि, एकअर्काको मायामा चुर्लुम्मै डुबेका मायालु जोडिहरुका लागि यो दिनले विशेष महत्व राखेको छ । त्यसैले आज हरेक जसो पर्यटकीय एवं सार्वजनिक ठाउँहरुमा जीवनमा हरियाली ल्याउनका लागि प्रेमको सागरमा चुर्लुम्म डुबेकाहरुलाई देख्न सकिन्छ ।
शरिरमा अर्कै एक तरंगको सञ्चार, रंगीन अनुभूति नै प्रेम हो । युवा मन,त्यसमा पनि भर्खरै प्रेमको टुसा पलाएको बेलाको अनुभूति सायद भोग्नैले मात्रै थाहा पाउँछन् । मायालुको चिन्तनले तरंगीत बनाउन यो दिनले अझ राम्रो भूमिका खेलेको छ ।
सञ्चारकर्मी सविना कार्कीको शब्द सापटी लिऔँ,‘मनमा उत्पन्न भएको तरंगलाई आफ्नो मनले खाएकोलाई अभिव्यक्त गर्ने दिन नै प्रणय दिवस हो ।’ दुई मनहरु बीचको पर्खाल भत्काउने काम यो दिनले गरिदिन्छ । ‘सिमा रेखाहरु मेटाउँछ, दुईमुटुलाई एउटा बनाउँछ अनि सुन्दर नयाँ संसारको सपना देखाउँछ । ’
प्रेमले राम्रो/नराम्रो केही देख्दैन । त्यसैले प्रेमलाई जीवन्त दिनका लागि दुवै जनाले एकआपसमा विश्वास गर्न जरुरी छ । मेरा आत्मीय मित्र उज्जवल प्रेमलाई दुई आत्माको पवित्र मिलन भन्न रुचाउँछन् । उनको नजरमा प्रेमलाई परिभाषा गर्ने चिज नै हैन । भन्छन्,‘यो बाँधिने चिज हैन । आफै हुन्छ । जस्तो नजरले हेरिन्छ,त्यही अनुसारको अनुभति हुने भएकाले प्रेमको कुनै परिभाषा नै छैन । ’ प्रेमको सागरमा बढि डुब्ने उनी भन्छन्–‘प्रेम सागर हो,यहाँ जो पनि अट्न सक्छ । तर,टिक्न सक्ने कुरा प्रेमीहरुबीचको म्यूचल अन्र्डस्ट्याण्डिङमा भर पर्ने कुरा हो । ’
अहिलेका युवापुस्ताहरुले प्रेमलाई हेर्ने दृष्टिकोणमा फरक छ । भौतिक सुख अनि उपहारमा युवापुस्ताले प्रेमलाई साट्छ । प्रेमभावलाई बिर्सिएको पाइन्छ । उनीहरु अनुसाशनको दायरामा हुने प्रेम र आर्कषण दुवै गर्न छाडेका छन् । त्यसैको नतिजा हो, ब्रेकअप । अहिलेका युवापुस्ताहरुमा ‘लाइन’राख्ने प्रचलन बढि छ । अर्थात,एक जनासँग अफेयर चलिरहेकै बेला अर्कोलाई आफूतिर ‘एट्रायाक्ट’ गराएर आफू नजिक बनाउने प्रचलन छ । ब्रेकअप हुने बित्तिकै अर्कोसाग रिलेशन बढाउने परिपाटी । प्रेममा धोका खाएकाहरुले पनि यसो गर्छन् ।
भ्यालेन्टाइन्स डेको दिन डेटमा रमाउने जोडीहरु अक्सर भ्यालेन्टाइनलाई ‘मिस्ड’ गर्छन् । प्रणय दिवस मनाइरहदा यसको सुरुवात तेस्रो शताब्दितिर भएको तथ्याङ्कहरु पाउन सकिन्छ । रोमका तत्कालीन सम्राट क्लोडियस द्वितियले नारीसँगको प्रेम सम्बन्धले सैनिक कमजोर हुने,आत्मबल कमजोर हुने र गोप्य सूचना बाहिर जाने मनिस्थिती बोकेको कारण उनले आफ्ना सैनीकहरुलाइ प्रेम र विवाह गर्न रोक लगाएका थिए ।
सम्राटको यो कदपप्रति धेरैजना रुष्ट थिए । चित्त नबुझ्नेहरु मध्येका एक थिए,पादरी भ्यालेन्टाइन । उनले सम्राटको उर्दी विपरित प्रेमको पक्षमा वकालत गर्दे कयौँ सैनिककहरुलाई सार्वजनिक रुपमा विवाह बन्धनमा बाँधिदिए । रुष्ट बनेका सम्राटले पादरीलाई देख्न सकेनन् । पक्राउ गरी मृत्यु दण्डको सजाय सुनाए ।
जेलमा बस्दा पादरी भ्यालेनटाइनको जेलरकी दुवै आखाँ नदेख्ने छोरीसँग माया बस्छ । मृत्युदण्ड दिनुअघि उनले ‘लभ फ्रम योर भ्यालेन्टाइन’ भन्ने हस्ताक्षर सहितको प्रेम–पत्र आफ्नी अन्धी प्रेमीकालाई दिएका थिए । प्रेमप्रतिको उनका त्याग अनि विश्वास त्यतीमा मात्र सिमित भएन । आफूले लेखेको अक्षर आफ्नी अन्धी प्रमिकाले नदेख्ने भएपछि उनले आफ्नो प्रेमको वास्तविक नमुनास्वरुप मृत्यु अगाडि आफ्नी प्रेमीकालाई दुवै आखाँ दान दिएर मृत्युलाई स्वीकारेका थिए ।
सच्चा प्रमेको लागि भ्यालेन्टाइनले दिएको बलिदानको नमुना प्रस्तुत गर्नुका साथै प्रेमको लागि आफ्नो जीवन उत्सर्ग गर्ने पादरीको सम्मान स्वरुप यो दिवस मनाउन थालिएको हो । त्यही पत्रको आधारमा आजपनि यो दिवसका दिन प्रेमिहरुले ‘लव फ्रम योर …’लेखेर सोही प्रकारका सन्देश कार्डहरु दिने प्रचलन रहेको छ । यो प्रचलन सामाजिक सञ्जालको प्रयोगका कारण अहिले हराउदै गएका छन् । सुरुवाती समयमा प्रेममय शब्दहरु हातैले लेखेर प्रेमी वा प्रमिकालाइ दिने चलन चलेको रहेपनि आजभोली त्यो छैन । बजारका कार्ड, फुल,चकलेट वा उपहारहरु साटासाट गर्ने चलन चलेको छ । हिजोआज सामाजिक सञ्जालले यो ट्रेण्डलाई विस्तारै विस्थापित गरिदिदैछ ।
प्रणय दिवसमा अक्सर गुलाब दिने प्रचलन छ । त्यसमा पनि रातो । शब्दद्वारा व्यक्त गर्न नसकेका कुराहरु रातो गुलाबले आफसेआफ पैदा गरिदिने भएकाले रातो गुलाबलाई प्रेमको प्रतिकका रुपमा यो दिवसको दिन प्रयोग गरिन्छ ।

विदेशी संस्कृतिको प्रभावमा पर्दै गइरहेको हाम्रो नेपाली समाजले अहिले पनि प्रेमलाई खुल्ला रुपमले स्वीकारेको छैन । पारिवारीक बन्धनका तथा असमजदारीका कारण धेरै प्रेमी/प्रेमीहरुले आत्महत्या गरेका छन् त कोही भागेर विवाह गरेका छन् । यद्यपि सहरी क्षेत्रमा प्रेमील जोडीहरुलाई ‘पचाउन’थालिसकेको पाइन्छ ।
विवाह बन्धनमा बाँधिएर टुंगिने प्रेमलाई हामी सफल भन्छौँ । तर कतिपय अवस्थामा त्यस्तो देखिदैन । प्रेमको कुराहरु गरिरहदा त्यहाँ,सम्बन्धको नि कुरा आउँछ । जहाँ विश्वास हुदैन,त्यहाँ सम्बन्धले पूर्ण रुप लिदैन । अर्थात विश्वास बिनाको प्रेम कहिल्यै सफल हुदैन अनि वियोगमा प्रेम टुगिन्छ । प्रेमलाई गाली गरिन्छ । प्रेम शब्दलाई अपमानित गरिन्छ ।
प्रेमलाई मानिसहरुले जति नै बदनाम गर्न खोजे नि रोमियो र जुलियट,किलोप्ट्रा र मार्क एन्टोनी,पेरिस र हिलिना,लैला र मज्नू,सलिम र अनारकाली,शाहजान र मुबतज,रानी भिक्टोरिया र राजकुमार अल्बर्ट जस्ता विश्वविख्यात प्रेम जोडीका कथाहरुले यसलाई जीवन्त दिएको छ ।
अहिलेको पुस्ताहरुमा मायालाई यौनसँग जोड्न खोजिएको छ । एउटा अनलाईनमा छापिएको प्रसंग निकाल्यौँ । केटा यौनका लागि केटीलाई प्रेम गर्छ भने केटी प्रेम प्राप्त गर्न यौनका लागि तम्तयार हुन्छे । केटा यौनप्राप्तीका लागि आफ्नो मायाको नाटक देखाउँछ,केटी केटाको कुरामा विश्वास गरेर आफ्नो अस्तित्व गुमाउन पुग्छे ।
यसले समाजमा विभिन्न समस्याहरु ल्याएको छ । हिजो आज युवाहरु कुनै केटीको अस्मिता लुटेपछि ‘ब्रेकअप’गर्ने प्रचलन बढेको छ । यसले गम्भीर रुपमा लिदै गइरहेको छ ।
प्रेमलाई ‘स्पिरिच्यूअल’भन्दा पनि ‘फिजिकल स्याटिस्फ्याक्सन’का रुपमा लिने परिपाटी बढ्दो छ । प्रस्ताव आउने बित्तिकै स्वीकार्नू अहिलेका पुस्ताहरुको मुख्य कमजोरी हो । हिजोआज सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम, इमो, भाइबरबाट प्रेम आदनप्रदानको स्रोत बनेकाले उनीहरु ‘स्पिरिच्यूअल्ली कनेक्ट’ हुन सकिरहेका छैनन् ।
सामाजिक सञ्जालमा गरिने ‘सेक्स च्याट’ले प्रेमीद्वारा प्रेमीका बलात्कारकको सिकार भएको उजूरीहरु प्रहरीकहाँ आउने गरेका छन् ।
प्रणय दिवसका दिन महिलाहरुले विशेष गरी सतर्क हुनुपर्ने अवस्था देखिएको छ । चरित्र बुझ्नका लागि प्रस्तावहरु आउने तथा ‘डेटिङ’को बहनामा शारिरीक सुखभोग गर्न खोज्नेहरुले ‘लाइफ स्पोइल’ गर्न सक्छन् ।
त्यसैले कसैले प्रस्ताव राख्यो भन्दैमा नबुझिकन प्रस्तावलाई स्वीकार गर्दा नराम्रो हुन सक्छ । बुझेर माया वा प्रस्ताव स्वीकार गर्नुहोला जसले गर्दा माया,माया नै बन्न सकोस्, धोका हैन ।
अपरिपक्वतामा लगाएको माया समाजको तिरस्कार,अपहेलना अनि अदालतमा मुद्दा नबनोस् । प्रेम गर्दैमा त्यसलाई पापका रुपमा पनि लिइनुहुदैन । प्रेमका नाममा मानिसलाई नराम्रो क्षेत्रतिर लैजाने गरी समाजलाई अपाच्य हुने क्रियाकलाप गर्नु गलत हो । प्रेम अनि मोर्डननाइजेसन’को नाममा भड्काउलो व्यवहार देखाउदैमा त्यो प्रेम सफल हुन्छ भन्ने कुनै ग्यारेण्टि छैन ।
जसरी नरनारी एकैरथका दुई पांग्रा हुन् त्यसरी नै विश्वास र अनुशासन सफल प्रेमको द्योतक हुन् । प्रकृतिको नियम नै प्रेम भएकाले यो बिना जिन्दगी चल्न मुस्किल नै हुन्छ । आत्मबाट गरिएको प्रेममा समर्पण छ,विश्वास छ अनि इश्वरत्व पनि । चाहे त्यो धनी वा गरिब नै किन नहोस् । प्रेमको आत्मियतालाई कायम राख्दै आत्मलाई शुद्ध राख्ने हो भने प्रेम सफल बन्न सक्छ । अनावश्यक तडकभडक,अनैतिक क्रियाकलाप गर्ने हो भने हाम्रो समाज विसंगतीतर्फ मोडिन सक्छ । त्यसैले प्रेमात्मालाई अमर राखौँ ।
सार्वजनिक स्थलहरुमा अनैतिक हर्कतहरु देखाउदै ‘भ्यालेनटाइन्स डे’मनाएको भन्दै प्रेमको पवित्रता प्रति कालो दाग लगाउन खोज्नेहरु बढि हुन्छन् । यस्तो अवस्थमा दुवैजना सचेत हुनु आवश्यक देखिन्छ ।
सच्चा प्रेमको लागि भ्यालेन्टाइनले दिएको बलिदानको सम्झानामा यो दिवस मनाउन लाग्नु भएका प्रेममा डुबुल्की मार्ने सबै प्रेमीहरुलाई ह्याप्पी भ्यालेन्टाइन डे ।।