आरक्ष उत्तरतर्फ राजावासमा भारतले स्पर बनाएर नदी पश्चिमतर्फ मोडेपछि पूर्वी भागका सिमसार तथा पोखरी सुक्न थालेको आरक्षका प्रमुख वार्डेन रामदेव चौधरीले बताए । ‘पानीको एकुफर परिवर्तन भएपछि सिमसार सुक्न थालेका छन्, पानी रिचार्ज हुन छाडेको छ,’ उनले भने ।
सिमसार सुक्न थालेपछि जलीय प्रणालीमा असर पुगेको फ्रेस वाटर इकोलोजिस्ट एवं काठमाडौं विश्वविद्यालयकी अनुसन्धाता रामदेवी तचामोले जानकारी दिइन् । उनका अनुसार विभिन्न प्रजातिका माछा, कछुवा, शंखे किरा, सर्पलगायत पानीमा आश्रित जीव प्रभावित भएका छन् ।
तीन महिनायता सिमसार सुक्न थालेको स्थानीय कृषक क्षतिलाल सरदारले बताए । उनी आफ्नो खेतमा सिमसारकै पानी प्रयोग गर्छन् । ‘यस वर्ष सिँचाइ गरे पनि अर्को वर्ष कठिनाइ हुन सक्ने देखिएको छ,’ उनले भने ।
चरा प्रजाति प्रभावित
कोसीटप्पुका सिमसारमा १ सय ९० प्रजातिका चरा आश्रित छन् । सिमसार सुक्दा चरालाई चारो नपुगेर उनीहरू अन्यत्र बसाइँ सर्ने पक्षीविद् हेमसागर बरालले बताए । उनका अनुसार यहाँका चरा सुनसरीको बर्जुवा तालमा जान थालेका छन् । आगन्तुक चरासमेत घट्न सक्ने उनले बताए । सन् २०१७ मा भएको गणनाले पनि कोसीमा चराका थुप्रै प्रजाति आउन छाडेको देखाएको छ । ताल क्षेत्रमा देखिने चरा घटदै गइरहेका छन् ।
पानीको मात्रा घट्दो
१ सय ९९ वर्षका लागि भारतलाई भाडामा दिइएको कोसी नेपालको प्रमुख नदी प्रणाली हो । यहाँको पानीबाट जलविद्युत् आयोजना सञ्चालन गरेर भारतले नेपाललाई नै बिजुली बेच्दै आएको छ । कोसीको बहाव मापन पनि भारत सरकारको कोसी परियोजनाले गर्छ ।
सन् १९४५ देखि २०१६ सम्मको अनुसन्धानमा कोसीमा अधिकतम ९ लाख १३ हजार क्युसेक बहाव मापन गरिएको थियो । वर्षायाममा ३ लाख क्युसेक मापन हुन्छ । ५ वर्षयता बहाव घटदो रहेको कोसीटप्पु व्यवस्थापन योजनामा उल्लेख छ । आरक्ष प्रमुख चौधरीका अनुसार केही वर्षअघि औसत १ लाख ५० हजार क्युसेक बहाव रहेकामा अहिले १४ देखि १५ हजार क्युसेकमा झरेको छ । उत्तरी क्षेत्रमा जथाभावी सडक खन्दा पनि मुहान सुक्दै गएको उनले बताए ।
आरक्ष कार्यालयदेखि ७/८ किलोमिटर उत्तरतर्फ भारतीय पक्षले बहाव पश्चिम क्षेत्रमा सारिदिएसँगै पूर्वी क्षेत्रमा पानी रिचार्ज हुन छाडेको छ । आरक्ष नजिकैको नदीसमेत सुकेको छ । यस विषयमा कुरा उठाउँदा भारतीय पक्षले दुई देशबीचको कोसी सम्झौता उल्लेख गर्ने गरेको वार्डेन चौधरीले बताए ।