सुनसरी
कोसी गाउँपालिका-३ की विमला सरदार बिहान सबेरै उठ्न डराउँछिन् । त्यही वडाकी शारदा मिश्रको हालत पनि विमलाको जस्तै । वन्यजन्तुको डरले बिहान सबेरै उठ्न र राति शौचालय जानुपर्दा उनीहरु डराउँछन् । विमला र शारदा मात्र होइनन्, कोसीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा पर्ने कोसी गाउँपालिकाका बासिन्दा बिहानै उठ्न र राति शौचाललय जानुपर्दा वन्यजन्तुको त्रास बाँचिरहेका छन् । उनीहरुलाई अर्ना, हात्ती, बँदेल, स्याल लगायत वन्यजन्तुले आक्रमण गर्लान् भन्ने चिन्ता छ ।

६ महिनाअघि हात्तीको आक्रमणबाट मृत्यु भएका बोरिलाल सरदारको भत्किएको घर ।
उक्त गाउँपालिकाका मानिसहरु वर्षौदेखि यही त्रासमा आफ्नो जीवन व्यतित गर्दै आएका छन्। कहिले हात्तीले घर भत्काइदिने त कहिले अन्नबाली खाइदिने।
आरक्षको मध्यवर्ती क्षेत्रमा रहेका बराह क्षेत्र नगरपालिका, सप्तरीको कञ्चनरुप नगरपालिका र उदयपुरको बेलका नगरपालिकामा दिनहुँजसो वन्यजन्तुले दुःख दिने गरेका छन्। कहिले अन्नबाली खाइदिने, घाइते बनाइदिने, संरचना भत्काइदिने जस्ता समस्या उनीहरुले भोग्दै आएका छन्। स्थानीय मुस्ताक अन्सारीले भने, ‘अर्ना र हात्तीले सधैं अन्नपात खाइदिन्छ। साँझ परेदेखि बिहान घाम नलागेसम्म बाहिर निस्कन डर लाग्छ। ‘ घाम लागेपछि ती जनावरहरु आरक्ष क्षेत्रमा जाने गरेको अन्सारीले बताउँछन्।
गत आर्थिक वर्षमा आरक्षको मध्यवर्ती क्षेत्रमा ४ सय ६१ जना कृषकको अन्नबाली वन्यजन्तुले नष्ट गरिदिए। १ सय ९१ जनाको घरगोठ वन्यजन्तुले भत्काएको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। जंगली जनावरको आक्रमणमा परी गत आर्थिक वर्षमा ७ जनाले ज्यान गुमाएका थिए। जसमा अर्नाको आक्रमणबाट १ जना र बाँकी हात्तीको आक्रमणमा परेका थिए। मृतकमध्ये ६ जना महिला थिए। ५ जना मध्यवर्ती क्षेत्रमा र बाँकी आरक्षको कोर क्षेत्रमा मारिएका थिए।
चालू आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणमा डेढ दर्जनभन्दा बढी मानिस घाइते भएको तिवारीले जानकारी दिए। जसमा चितुवाको आक्रमणमा ५ जना, अर्नाबाट ६ जना र बाँकी हात्तीको आक्रमणमा घाइते भए।
किन पस्छन् वन्यजन्तु?
१ सय ७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कोसी टप्पु वन्यजन्तु आरक्षको १० प्रतिशत भू-भाग मात्र वन छ। बाँकी घाँसे मैदान, नदी र खोलाको बगर पर्छ। हाल आरक्षमा ४ सय ४१ वटा अर्ना र दर्जन हाराहारीमा जंगली हात्ती, ५ सय २६ प्रजातिका पंक्षी, १ सय २७ प्रजातिका माछा, ७७ प्रजातिका पुतली, ४५ प्रजातिका शरिसृप, २१ प्रजातिका ढाड नभएका जनावर लगायतका वन्यजन्तु र वनस्पतिहरु पाइन्छन्।

वातावरणविद् प्रकाशचन्द्र अर्याल भन्छन्, ‘कोसी नदी चाँडै नै धार परिवर्तन गर्ने नदी हो। जसको प्रत्यक्ष असर बासस्थान र खानामा पर्न जान्छ। आरक्षमा धेरै वन्यजन्तु हुँदा खानाका लागि प्रतिस्पर्धा बढ्छ र खानाको अभाव हुन्छ। खानाको खोजीमा वन्यजन्तु गाउ पस्छन्।’ बफर क्षेत्रमा रहेका गाउँमा वर्षभरी खेती हुन्छ। विभिन्न प्रकारका अन्नबाली लगाइन्छ।
चरिचरनका लागि छाडिएका सयौं चौपायाले जंगलमा रहेका घाँसपात खाइदिएपछि जंगली जनावरहरुलाई खाना पुग्दैन। खाना नपाएपछि उनीहरु खानाको खोजीमा भौतारिँदै गाउँ पुग्ने गरेको अर्यालले बताए।
राहतमा असन्तुष्टिः
अघिल्लो आर्थिक वर्षमा आरक्षले वन्यजन्तुबाट पीडितहरुलाई राहतस्वरुप १ करोड २५ लाख ४ हजार रुपैयाँ वितरण भयो। क्षतिपूर्तिमार्फत दिइने राहतप्रति पीडितको असन्तुष्टि धेरै पाइएको छ। मानिसको मृत्युलाई १० लाख रुपैयाँमा दाँजिएकोप्रति पीडितहरुको आक्रोश छ।
वन्यजन्तुको आक्रमणबाट परिवारको सदस्य गुमाएकी स्थानीय सरिता सरदारले भनिन्, ‘मान्छेको मूल्य १० लाख हुन्छ? ‘ उनले मानवीय क्षतिको कुनै मूल्य नहुने बताउँदै क्षतिपूर्तिबाट दिइने रकम न्यून भएको गुनासो गरिन्।
वन्यजन्तुबाट नष्ट भएको अन्न बालीको भरपाईमा पनि सरकराले न्यून रकम दिने गरेको छ। अन्नबालीमा धेरै नोक्सानी भए पनि सरकारले १० हजार रुपैयाँ मात्र राहत दिने व्यवस्था गरेको छ। गाउँपालिकाको वडा नम्बर ३ का उमर अन्सारीको अन्नबाली अर्ना र हात्तीले नष्ट गरिदिएको वर्ष दिनपछि मात्र राहत पाए। राहत लिन अपनाउनुपर्ने प्रक्रिया ज्यादै झन्झटिलो हुने उनको अनुभव छ। राहतप्रति उनी पनि सन्तुष्ट छैनन्।
उक्त रकम लिनका लागि पनि धेरै क्षेत्रबाट सिफारिस बनाउनुपर्ने र राहत वितरण पनि करिब एक वर्ष लाग्ने भएकाले प्रक्रिया झन्झटिलो छ।
नियन्त्रणका प्रयासः
मध्यवर्ती क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि प्रयासहरु नगरिएका होइनन्। नियन्त्रणका प्रयास केही हदसम्म सफल देखिए पनि दीर्घकालीन उपाय अपनाएको पाइँदैन। सोलर तारबारका कारण हात्ती र अर्नाको गाउँ पस्ने क्रम घटेको आरक्षको दाबी छ। चालू आर्थिक वर्षमा २० किलोमिटर क्षेत्रफलमा १ करोड ३२ लाखको लागतमा फेन्सिङ निर्माण कार्य सुरु हुन लागेको छ।
हात्तीले त्यस्ता तारवारको पोल भत्काइदिने भएकाले मर्मतमा समस्या हुने आरक्षले जनाएको छ। सोलार तारबार केही वर्षका लागि मात्र प्रयोग गर्न मिल्ने भएकाले यसलाई वन्यजन्तु नियन्त्रणका लागि दीर्घकालीन रुपमा लिन नसकिने आरक्षका सूचना अधिकारी तिवारीको भनाइ छ।
यस्तै, मानिसहरुले आरक्ष क्षेत्रमा अवैध रुपमा चरिचरण तथा घास काट्नका लागि तारबार काटिने गरिएको छ।
मानव वन्यजन्तु सहअस्तित्व :
वन्यजन्तुको आक्रमणको त्रासमै जीवन व्यतित गरिरहेका कुशाहावासी र वन्यजन्तुबीचको द्वन्द्व धेरै पहिलेदेखिको हो। वन्यजन्तुलाई प्रकृतिकको अनुपम उपहारका रुपमा लिइन्छ। यसले जैविक विविधता संरक्षण, प्रयोग र महत्व झल्काउनुका साथै पारिस्थितिकीय प्रणालीलाई सन्तुलन राखिरहनका लागि भूमिका खेल्ने कुरा पहिलो जैविक विविधतासम्बन्धी सम्मेलनमा उल्लेख छ।
आरक्षले विभिन्न समयमा तालिम तथा सचेतनामूलक कार्यक्रमहरु ल्याउँदै आएको वार्डेन चौधरीको भनाइ रहे पनि आरक्ष क्षेत्रको कार्यालयको पूर्व गाउँ मिलन चोकका बासिन्दाहरुसँग यस विषयमा कुरा गर्दा उनीहरुले कुनै कार्यक्रममा आरक्षले आफूहरुलाई सामेल नगराएको बताए। आरक्षले अर्नालाई चाहिने घाँसे मैदानको व्यवस्थापनसमेत गर्दै आएको जनाए पनि छाडा चौपायले चुनौती थपिदिएको छ।
आरक्षमा वनको क्षेत्रफल कम हुनु र आहारा कम हुँदै जाँदा वन्यजन्तु गाउँ पस्ने भएकाले यो समस्या तत्कालै हल नहुने वातावरणविद् अर्यालको भनाइ छ। उनले भने, ‘यो समस्या हल गर्नका लागि वन्यजन्तुलाई चाहिने घाँस तथा आहारा जंगलमै उपलब्ध हुनुपर्छ। अनिमात्र वन्यजन्तु गाउँ पस्ने सम्भावना न्यून हुन्छ।’
यो समस्या समाधानका लागि सबै सचेत र गम्भीर हुनुपर्ने उनले औंल्याए। मानव वन्यजन्तुको सहअस्तित्व कायम गर्नुपर्नेमा उनले जोड दिए। उनले वन्यजन्तुसगको द्वन्द्व बहुआयमिक भएकाले यसको नियन्त्रणका लागि राज्य तथा स्थानीयवासीबीच समन्वय अतिआवश्यक रहेको बताए।