नेपालमा दैनिक तापक्रम परिवर्तन दर ०.०३४ डिग्रीले वार्षिक रुपमा बढिरहेको पाइएको छ । बेलायतबाट प्रकाशित हुने एट्मोस्फेरिक रिसर्च जर्नलनमा अघिल्लो साता प्रकाशित एक अनुसन्धानात्मक प्रतिवेदनले यस्तो उल्लेख गरेको हो ।
दैनिक तापक्रम परिवर्तन दर (डूयुरिनल टेम्प्रेचर रेन्ज) भनेको दिनको उच्चतम् र न्यूनतम् तापक्रमबीचको फरक हो। सन् १९७६ देखि २०१५ सम्मको तथ्यांकलाई समावेश गरिएर गरिएको उक्त अनुसन्धानमा ३ नेपाली र ४ इटालियन अनुसन्धानकर्ताहरुलेसंलग्न थिए।
यस्तै अनुसन्धानले ४० वर्षको समयवधिमा अधिकतम् दैनिक तापक्रम वृद्धि ०.०४५ डिग्रीले बढेको र न्यूनतम् तापक्रम वृद्धि ०.००९ डिग्रीले वार्षिक रुपमा बढेको पनि देखाएको छ। न्यूनतम् र अधिकतम् तापक्रमबीचको दूरी बढ्दा दिनहरु लामो समयसम्म तात्ने अनुसन्धानमा संलग्न त्रिवि केन्द्रीय वातवरण विज्ञान क्याम्पसका सहप्राध्यापक सुदिप ठकुरीले बताए।
ठकुरीका अनुसार अनुसन्धानले नेपालको पछिल्लो जलवायु परिवर्तनको अवस्था देखाएको छ।। उनले भने,‘हामी जलवायु परिवर्तन भन्दै हिडिरहेको अवस्था छ। अब हामीले तापक्रम वृद्धिको नयाँ तथ्यांक सहित जलवायु परिर्वतनको अवस्थाबारे अरुलाई भन्न सक्छौ। यसअघि पुरानो तथ्यांकलाई टेकेर तापक्रम वृद्धिको अवस्थाबारे भन्थ्यौँ।’
मनसुनी चक्रमा आएको फेरबदलका कारण यस्तो देखिएको अनुसन्धानले देखाएको छ। मनसुन कमजोर हुनु र बादल बन्ने प्रक्रियामा परिवर्तन हुँदा यो अवस्था देखा परेको हो। तापक्रम बढ्दै जाँदा ‘एक्सिट्रम हिट वेभ’ र तातो दिनको बढोत्तोरी हुने विज्ञहरु बताउँछन्। यसले प्राथमिक उत्पादकत्व (प्राइमरी प्रोडक्टिभिटी) बढ्ने र जलवायु परिवर्तनको चक्रमा पनि असर गर्ने ठकुरीले सुनाए।
अनुसन्धानमा संलग्न अर्की अनुसन्धानकर्ता सूचना दाहालका अनुसार दिनको अधिकतम् तापक्रम वृद्धिदर उचाई बढेसँगै बढिरहेको छ। यसको कारणले उच्च हिमाली क्षेत्रमा असर पर्ने उनले औँल्याइन्। दाहालले भनिन्,‘ हिमालय क्षेत्र उसैपनि संवेदनशील क्षेत्र हो। थोरै मात्र तापक्रम बढ्दा पनि ग्लेसियर पग्लने सम्भावना हुन्छ। यसले उच्च हिमाली क्षेत्रमा तापक्रम धेरै बढ्दा पनि जलवायुमा ठूलो असर पुर्याउँछ। ’ जल तथा मौसम विज्ञान महाशाखाले गरेको एक अनुसन्धानले वार्षिक औसत तापक्रम वृद्धि ०.०५६ डिग्रिले बढेकोदेखाएकोछ।
पहाडी क्षेत्रमा तापक्रम बढ्दो :
यसैबीच तराई क्षेत्रको तुलानामा पहाडी क्षेत्रमा तापक्रम बढ्दो अवस्था रहेको अनुसन्धानले देखाएको छ। तराई क्षेत्रमा औसत दैनिक तापक्रम परिवर्तन दर ०.०१८ डिग्रीले बढेको छ भने पहाडी तथा हिमाली क्षेत्रमा ०.०३ प्रतिशतभन्दा बढिले बढेको उक्त अनुसन्धानले देखाएको छ। ठकुरीका अनुसार अधिकतम् र औसत तापक्रम वृद्धि उचाईसँग सम्बन्धित छन्। उच्च हिमाली क्षेत्रमा ‘डूयुरिनल टेम्प्रेचर रेन्ज’ र अधिकतम् तापक्रम उचाई बढेसँगै बढि पाइएको हो।
प्रजातिहरुको बासस्थान परिवर्तन :
यसैबीच तापक्रम बढेसँगै प्रजातिहरुको बासस्थान परिवर्तन तथा जीवनचक्रमा समस्या हुने त्रिवि केन्द्रीय वनस्पति विज्ञान क्याम्पसका उपप्राधयाक नारायण घिमिरले बताए। यसले वनस्पतिका जीवनचक्रमा विभिन्न अवस्थामा प्रत्यक्ष असर पुग्ने बताए। यसले वस्पतिहरुको फूलफूल्ने समयहरु प्रिवर्तन हुने बताए। वृक्ष रेखा(ट्री लाइन) सर्दै जाने,जीव तथा वनस्पतिको लोप हुने क्रम बढ्ने बताए।
जैविक विविधतामा पनि तापक्रम वृद्धिदरको असर देखिने गरेको प्राध्यापक एवं वनस्पतिविद् प्रमोदकुमार झाले बताए। उनले भने,‘तापक्रम वृद्धिले वनस्पतिहरु उच्चस्थानमा सर्दै गइरहेका छन्।’ उनले मिचाहा प्रजातिका विरुवाहरु बढ्ने चेतावनी दिए। मिचाहा प्रजातिका विरुवाहरुले जडिबुटीहरु घट्ने बताए।
तापक्रम बढ्दा जडिबुटीको रासायनिक मात्रा पनि घट्ने बताए। वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले अधिकतम् र न्यूनतम तापक्रमको परिवर्तनले असर गर्ने बताए। उनले भने,‘रेन्ज बढ्नु स्वभाविक नै हो। म्याक्सिमम तापक्रम परिवर्तन र मिनिमम तापक्रम परिवर्तनले फरक पार्ने हो। ’
यस्तै उनले यस वर्ष खडेरीको सम्भावना धेरै रहेको बताए। वर्षात्को पूर्व अनुमानले यो वर्ष खडेरी बढिरहेको देखिएको उनले सुनाए।
Published in Kantipur Daily on 9th of Asadh 2076
https://www.kantipurdaily.com/news/2019/06/24/156137283718156439.html?author=1